Margadarsan


  • कर्णालीका मुख्यमन्त्री शाहीले १४ मंसिरमा विश्वासको मत लिने

    मार्गदर्शन ३ मंसिर २०७८, शुक्रबार

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री नियुक्त भएको एक महिनापछि मुख्यमन्त्री शाहीले विश्वासको मत लिनुहुने भएको हो ।

    मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि १४ मंसिरमा कर्णाली प्रदेशसभाको बैठकको आह्वान गरिएको छ ।

    प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि १४ मंसिरमा प्रदेशसभा अधिवेशन आह्वान गर्नुभएको हो ।  प्रदेशसभा सचिवालयले १४ मंसिर दिउँसो १ बजे बैठक बोलाइएकाले उपस्थितिका लागि सबै सदस्यलाई सूचित गरिएको कर्णाली प्रदेशसभा सचिवालयका निमिक्त सचिव तेजप्रकाश जोशीले जानकारी दिनुभयो ।

    शाही १६ कात्तिकमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री भएको लामो समयसम्म पनि शाहीले मन्त्रीमण्डलको पूर्णता दिन सक्नुभएको छैन ।

    मुख्यमन्त्री भएको १४औँ दिनमा नेकपा (एकीकृत समाजवादी)का चन्द्रबहादुर शाहीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गर्नुभएको थियो ।

    शाही मन्त्री नियुक्त भए पनि सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँडका विषयमा कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । नेकपा माओवादी केन्द्र, नेपाल कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को सत्ता गठबन्धन रहेको कर्णाली प्रदेश सरकारमा माओवादी चार मन्त्री, एकीकृत समाजवादीले तीन मन्त्रालय माग गरिरहेको छ ।

    मुख्यमन्त्री शाहीले कांग्रेसलाई मुख्यमन्त्रीसहित चार मन्त्रालय आफूसँगै राख्न चाहनुभएको छ । माओवादीले सबैभन्दा ठुलो दल भएका कारणले चार मन्त्रालय माग गरिरहेको छ । एकीकृत समाजवादीले विगतको सम्झौताअनुसार तीन मन्त्रालय पाउनुपर्ने माग गरेको छ ।

    फेसबुक प्रतिक्रिया