काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १०औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन सम्पन्न भएको छ ।

गत शनिबारदेखि जारी प्रतिनिधि चयनको क्रम मंगलबार सकिएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

रसुवाबाट ७ जना प्रतिनिधि चयन भएसँगै महाधिवेशनका लागि १ हजार ९ सय ९९ जना प्रतिनिधि चयन भएको उहाँले जानकारी दिनुभयो ।

चयन भएका प्रतिनिधिको विवरण मंगलबारसम्म केन्द्रीय कार्यालयमा बुझाइसक्ने महाधिवेशनको कार्यतालिका रहेको थियो । साे अनुसार महाधिवेशन चयन प्रक्रिया सकिएको हो ।

पदाधिकारीसहित २ सय २५ जनाको केन्द्रीय कमिटी र अनुशासन आयोग तथा लेखा आयोग गरी १५-१५ जना निर्वाचित हुनेछन् । एमालेले यसपटकको महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान गर्ने तयारी गरेको छ ।

विधान महाधिवेशन सकिएको एमालेले अबको महाधिवेशनमा नेतृत्व चयन गर्नेछ । एमाले महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा सम्पन्न हुने भएको छ ।