काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज शनिबार एकैदिन देशभर महाधिवेशन प्रतिनिधि चयन गर्दैछ । वडा, नगर/गाउँ अधिवेशन सम्पन्न गरिसकेको एमालेले १०-१२ मंसिरमा चितवनमा हुने १०औँ महाधिवेशनका प्रतिनिधि चयन गर्न लागेको हो । यद्यपि, कतिपय जिल्लामा सहमतिका आधारमा यसअघि नै प्रतिनिधि चयन भइसकेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन प्रतिनिधि चयनको पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गर्दै उच्च समझदारीका आधारमा प्रतिनिधि चयन गर्न आग्रह गरिसक्नुभएको छ ।
एक निर्वाचन क्षेत्रबाट पार्टीका एक हजार दुई सदस्य बराबर तीनजना प्रतिनिधि छनोट गर्ने व्यवस्था एमालेले गरेको छ । जसमा एक जना महिला अनिवार्य गरिएको छ । यसअघि एक हजार पाँच सय सदस्य बराबर तीन जना छनोट गर्ने व्यवस्था रहेको थियो ।
एक हजार दुई सयभन्दा बढी सदस्य भएको निर्वाचन क्षेत्रमा थप प्रतिनिधि छनोट गर्ने व्यवस्था छ । यस अनुसार, आठ सय जना बराबर एक जना महाधिवेशन प्रतिनिधि छनोट गरिनेछ।
एमाले प्रचार विभागका अनुसार संगठित सदस्यको संख्या आठ लाख नाघिसकेको छ । एमालेले महाधिवेशनका लागि १ हजार ९ सय ९९ प्रतिनिधि छनौट गर्दैछ । प्रदेश र सोसरहका कमिटीबाट २ महिलासहित ५ जना प्रतिनिधि चयन हुनेछन् ।