काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रमुख विपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले राजधानीमा प्रदर्शन गरेको छ ।
काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) बाहिर विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले नाफा घाटा जान्दैनौं, मूल्यवृद्धि मान्दैनौंलगायतका चर्का नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए ।
विरोध प्रदर्शनकै क्रममा उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला पनि जलाएका छन् । नेपाल आयल निगमले बुधबार राति खाना पकाउने ग्यासमा ७५ रुपैयाँ र डिजेल तथा पेट्रोलमा ३-३ रुपैयाँ मूल्य बढाएको थियो । त्यसैको विरोधमा देशभर प्रदर्शन भइरहेको छ ।
मूल्यवृद्धिको विरोधमा सत्तारुढ गठबन्धनमै रहेका दलको विद्यार्थी संगठनले पनि आन्दोलन घोषणा गरेका छन् ।
यसअघि पेट्रोलियम पदार्थ र खाद्यान्नमा भएको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाल बन्दसहितको आन्दोलनका कार्यक्रम नै सार्वजनिक गरिसकेको छ । नेकपाका महासचिव विप्लवले बिहीबार विज्ञप्ति जारी गरेर नेपाद बन्दसहितको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
घोषित आन्दोलनका कार्यक्रमअनुसार ३० कात्तिकमा नेपाल बन्द गरिनेछ । यस्तै २५ कात्तिक अपरान्ह ३ बजे देशव्यापी विरोध प्रदर्शन, २६ कात्तिकमा प्रचार प्रसार र साँझ मसाल जुलुस, २७ कात्तिकमा दिउँसो १ देखि २ बजेसम्म देशव्यापी प्रदर्शन, २८ कात्तिक बिहान १० देखि ११ बजेसम्म १ घन्टा चक्काजाम र २९ कात्तिकमा दिउँसो सिट्टी जुलुस र साँझ मसाल जुलुस निकाल्ने जारी विज्ञप्तिमा उल्लेख छ ।
https://youtu.be/25r8J6fibAE




















