इलाम । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले अहिलेको संविधान हटाउने कल्पना समेत गर्न नसकिने बताउनुभएको छ । गृह जिल्ला इलाममा विहीबार आयोजित कार्यक्रममा नेम्वाङले संविधान फेर्ने चर्चाको कुनै तुक नरहेको टिप्पणी गर्नुभयो ।
‘यो संविधान लरतरो रुपमा हटाउने कल्पना समेत हुँदैन,’ नेकपा एमालेका संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले भन्नुभयो, ‘संविधान फेर्ने चासचुस चर्चा हुन थालेको छ, त्यस्तो चर्चाको कुनै तुक छैन ।’ नेम्वाङले नेपालको अहिलेको संविधानले व्यवस्था गरेको संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था पनि तलमाथि नहुने दाबी गर्नुभयो । ‘कसैलाई केही भइहाल्छ भन्ने चिन्ता लागेको छ भने चिन्तामुक्त हुन आग्रह गर्छु,’ नेम्वाङले भन्नुभयो ।
संविधानसभामा उपस्थित ३१ दलबाट संविधान बनाउन अनेक अप्ठ्याराे झेलेको भए पनि संविधान संशोधनमार्फत् यसलाई सबै दलले स्वीकार गरेको नेम्वाङको भनाइ छ । ‘हामीले निकै चुनौतीपूर्ण अवस्थामा संविधान बनायौँ, संविधानमा चुच्चे नक्सा राख्न दलहरू एकढिक्का भए,’ नेम्वाङले थप्नुभयो, ‘अब नेपालको सबै दलले संविधानलाई स्वीकारेका छन् ।’ संविधानमा नै भएको व्यवस्थालाई टेकेर आवश्यक परिवर्तन गर्न सकिने उहाँको भनाइ छ । ‘तपाईँ जनताको मन जितेर आउनुहोस् चाहे अनुसारको परिवर्तन गर्न सक्नुहुन्छ,’ नेम्वाङले भन्नुभयो,‘अब परिवर्तनका लागि कुनै लडाइँ, आन्दोलन गरिराख्नुपर्दैन ।’ नेता नेम्वाङले जनतालाई समेत मन नपर्ने पार्टी र व्यक्ति परिवर्तन गर्न सुझाव दिनुभयो । ‘व्यक्ति मन पर्दैन, व्यक्ति फेर्नुहोस्, पार्टी मन पर्दैन पार्टी फेर्नुहोस्’, उहाँले थप्नुभयो,‘दलहरू बहीखाता बोकेर चाँडै तपाईकोमा आउँदैछन् ।’ नेम्वाङले जनताले दिने फैसलाले मुलुकलाई दिशा दिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले केही अप्ठ्याराे भएको जस्तो लागेको होला, तपाईको फैसलाले देशलाई निकास दिन्छ ।’