काठमाडौं । भोलिदेखि सुरु हुन लागेको राष्ट्रिय जनगणनाको सुरुवात राष्ट्रपति विद्यादेवी भण्डारीको परिवारको तथ्यांक संकलनबाट गरिने भएको छ ।

भोलि बिहान साढे ९ बजे राष्ट्रपति भण्डारीको परिवारको तथ्यांक संकलन गरेर जनगणनाको सुरुवात गरिने केन्द्रीय तथ्यांक विभागले जानकारी दिएको छ ।

त्यसैगरी भोलि नै बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवाको परिवारको र दिउँसो १ बजे उपराष्ट्रपति नन्दबहादुर पुनको परिवारको तथ्यांक संकलन गरिने विभागले बताएको छ । विभागले आज गरेको पत्रकार सम्मेलनमा विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले राष्ट्रिय जनगणनाको सबै तयारी पूरा भएको जानकारी दिनुभयो । भोलिदेखि १५ दिनसम्म जनगणना कार्य हुनेछ ।

राष्ट्रिय जनगणनामा खटिने गणकहरुले हरेक घर, परिवारसम्म पुगेर कुल ८० वटा प्रश्न  सोध्ने तयारी गरिएको छ । एक परिवारमा औसत: एक जना गणकले २० मिनेट लगाउने उहाँले जानकारी दिनुभयो । जनगणनामा खटिनेलाई सहजीकरण गर्न देशभर ८५०० जना सुपरीवेक्षक खटिएका छन् ।

उनीहरुलाई दिने सबै प्रकारको तालिम पूरा भएको महानिर्देशक श्रेष्ठले जानकारी दिनुभयो । यसपटक जनगणनाका लागि काठमाडौं जिल्लामा ट्याब्लेट कम्प्युटरको प्रयोग भएको छ । कुल २२५० वटा ट्याब्लेट प्रयोग हुने तथ्यांक विभागले जनाएको छ ।

जनगणनामा सोधिने प्रश्नको उत्तर गोप्य रहने भन्दै श्रेष्ठले सबैलाई ढुक्क भएर भाग लिन आग्रह गर्नुभयो । जनगणनामा भाग लिनु कर्तव्यसमेत भएको भन्दै उनले कसैले पनि नाइँ भन्न नपाउने बताउनुभयो ।

अहिले संकलन गरिएको तथ्यांक प्रशोधन गरेर नतिजा प्रकाशन गर्न ६ देखि ८ महिना लाग्ने छ । संकलित तथ्यांक मङ्सिर मशान्तसम्म केन्द्रमा आउने र प्रारम्भिक नतिजा ३ महिनाभित्र दिने विभागको तयारी छ ।