बुटवल । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिई मनाइने छठ पर्वका लागि भैरहवाका छठ पोखरीहरू सिंगारिएका छन् । छठ पूजाका लागि सिद्धार्थनगर नगरपालिका–५ स्थित श्रीकाली भक्ति गण (ई) (भैरहवा ब्यारेक, रुपन्देही) र सिद्धार्थनगर–४ स्थित श्रीराम जानकी हनुमान मन्दिर परिसरमा रहेको पोखरी सिंगारेर पूजाका लागि तयारी अवस्थामा राखिएको हो ।
पोखरीमा सरसफाइ तथा रंगरोगन गरी आकर्षक बनाइएको छ । राम जानकी हनुमान मन्दिर सेवा समितिका अध्यक्ष नरेन्द्रप्रसाद रौनियारले छठ पर्वको ठूलो महत्व रहेको भन्दै पूजाको सबै तयारी लगभग सकिएको बताउनुभयो । परिवारमा सुख, शान्ति प्राप्त हुने विश्वासका साथ तराई क्षेत्रमा छठपर्व विशेष रुपमा मनाउने गरिन्छ । अहिले यो पर्व क्रमशः पहाडी क्षेत्रमा बसोबास गर्ने गैरमधेशी समुदायले पनि मनाउन थालेका छन् । मन्दिर सेवा समितिले पूजाका लागि दुईवटा पोखरी सरसफाइ र मञ्च व्यवस्थापन सम्पन्न गरिसकेको छ । बुधबार दिउँसो ४ बजेदेखि राति १२ बजेसम्म छठ पूजाको महत्व बुझाउँदै भजनकिर्तनको आयोजना गरिने रौनियारले बताउनुभयो । पाँच वर्षदेखि यो पोखरीमा छठ पूजा हुँदै आएको छ ।
छठ पर्व मनाउन श्री कालीभक्ति गण (ई) भैरहवा ब्यारेकभित्र पनि तयारी अन्तिम अवस्थामा पुगेको छ । यहाँ ६० वर्षदेखि छठ पूजा हुँदै आएको छठ पूजा समारोह समिति सिद्धार्थनगर–५ का कार्यक्रम संयोजक आनन्दप्रसाद गुप्ताले बताउनुभयो । छठ पूजाका लागि नेपाली सेनाको सहयोगमा पोखरी सरसफाइ, रंगरोगनलगायतका काम गरिएको छ । कार्यक्रम संयोजक गुप्ताले वर्षेनी छठ पूजास्थलमा भक्तजनहरूको संख्या बढ्दै गएको बताउनुभयो । पूजाका लागि पोखरीको छेउमा दुई हजार एक सय वेदी बनाएको र ३५–४० हजार भक्तजन आउने अनुमान गरेकाे गुप्ताले जानकारी दिनुभयो ।
भक्तजनको संख्या वर्षेनी बढ्दै गएपछि अर्को वर्षदेखि छठ पोखरी थप्ने तयारी समेत भएकाे छ । मनकामना पूरा हुने धार्मिक विश्वासका साथ भक्तजनहरू छठ पूजामा सहभागी हुन आउने गुप्ताले बताउनुभयो । सरकारले सार्वजनिक बिदासमेत दिएको हुँदा यस पर्वकाे महत्व व्यापक भएकाे मधेशी समुदायको भनाइ छ । कालीभक्ति गणमा हुने पूजा कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणसमेत सहभागी हुने छठ पूजा समारोह व्यवस्थापन समिति सिद्धार्थनगर–५ ले जनाएको छ ।
त्यस्तै, ओमसतिया गाउँपालिका–४ स्थित बालापुरमा पनि छठपूजाका लागि तयारी गरिएको छ । हनुमान मन्दिर युवा क्लब ओमसतिया–४ बालापुरको व्यवस्थापनमा डण्डा नदीको छेउमा पूजा हुने भएको छ । चार वर्षदेखि डण्डा नदीको किनारमा छठ पूजा हुँदै आएको क्लबका अध्यक्ष उदयकुमार गर्गले बताउनुभयो ।