विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदनका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमध्ये एक जनाले झुटो बोलेको दाबी गर्नुभएको छ । सोमबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो दाबी गर्नुभएको हो ।
एमाले अध्यक्ष ओलीले भन्नुभयो, ‘शेरबहादुरजी हस्ताक्षर गरेर दिएको भन्नुहुन्छ, प्रचण्डजी होइन भन्नुहुन्छ, दुईमध्ये एकजनाले झुट बोलेको देखियो ।’
केही दिनअघि मात्र प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीसम्बन्धी सम्झौता पास गर्छौं भनेर आफू र प्रचण्डले हस्ताक्षर गरेर पठाइसकेको बताउनुभएको थियो । तर त्यसको खण्डन गर्दै प्रचण्डले भने राष्ट्रिय सहमति नभई एमसीसी सम्झौता पारित गर्न सकिन्न भनेर बताउनुभएको र समय मागका लागि मात्र पत्र पठाइएको दाबी गर्नुभएको थियो ।