काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आम्दानीबारे प्रश्न गर्नुभएको छ ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको आम्दानीमाथि प्रश्न गर्नुभएको हो । उहाँले बाबुराम भट्टराईले आफ्नी छोरीलाई बेलायतमा पढाउने आम्दानी कहाँबाट आयो भनी प्रश्न गर्नुभएको हो ।
अध्यक्ष ओलीले प्रश्न गर्नुभयो, ‘हामी बेलायत जाने भिसा पाउँदैनथ्यौं । बाबुरामका छोराछोरीले भिसा पाउँथे । कसरी होला ? के जादु होला त्यसमा भन्नुस् त ?’ उहाँले अगाडि भन्नुभयो, ‘एउटा भूमिगत क्रान्तिकारी नेताका छोराछोरीको बाउको नाउँ त चाहिन्छ, नागरिकता चाहिन्छ पासपोर्ट पाउन । कुन पासपोर्टबाट जानुभएको थियो ? कहाँ भिसा लगाउनुभएको थियो बाबुरामजी बताउनुस् त ?’
अध्यक्ष ओलीले अगाडि भन्नुभयो, ‘तपाईका छोराछोरीले बेलायतको शिक्षा, जहाँ कमसेकम ४-५ लाख महिनाको खर्च हुन्छ, छोराछोरी कसरी पढाउनुभएको थियो भूमिगत हिँड्दा ? कहाँको आम्दानीले ?’
राजनीति गर्दा तत्कालीन समयमा पुलिस रेकर्ड खराब भएका कारण आफूलाई पासपोर्ट बनाउनसमेत गाह्रो भएको ओलीले स्मरण गर्नुभयो । तर प्रचण्ड बाबुराम युरोप घुमेको भन्दै उहाँले भन्नुभयो, ‘मैले पासपोर्ट लिएको बहुदलीय व्यवस्था आएर ०४८ मा सांसद भएपछि । प्रचण्ड बाबुरामजीको पुलिस रेकर्ड खराब हुँदैनथ्यो ।’