तपाईंको अस्तित्वको सबैभन्दा महत्त्वपूर्ण पक्ष तपाईंको शरीर हो । जब हामी शरीरलाई साधनको रूपमा हेर्दछौँ, हामीले यो बुझ्नुपर्छ कि विभिन्न साधनहरू भिन्न–भिन्न क्रियाकलापहरूको लागि बनाइएका हुन्छन् । जब शारीरिक कुशलताको कुरा आउँछ, मानव शरीरलाई अन्य कुनै प्राणीसँग तुलना गर्न सकिँदैन । मानौँ यदि कुनै कीरा वा फट्याङ्ग्राको कुरा गर्ने हो भने, ती आफ्नो शरीरको लम्बाइको ५०–१०० गुणा बढी उफ्रिन सक्छन् । यदि तपाईंको लम्बाई ५–६ फिट छ भने, तपाईंले ५०० देखि ६०० फिटसम्म छलाङ्ग लगाउनु पर्ने हो । के यो सम्भव छ ? यदि तपाईंले गड्यौला, फट्याङ्ग्रा, बाघ, हरिण, हात्ती वा धरतीको कुनै पनि जीवको मापदण्डबाट ओलम्पिक आयोजना गर्नुभयो भने, तपाईं ती प्राणीहरूको अलिकति पनि नजिक हुनुहुन्न ।
तसर्थ, शारीरिक कुशलताको दृष्टिले हामी आफूलाई धरतीको कुनै पनि प्राणीसँग तुलना गर्न सक्दैनौँ । तर, मनुष्यको रूपमा हामीमा केवल जीवनयापन गर्ने अन्तर्निहित प्रवृत्तिबाट माथि उठी केही अधिक गर्ने विशेष योग्यता रहेको हुन्छ, जुन सबैभन्दा महत्त्वपूर्ण कुरा हो । मनुष्यको रूपमा तपाईं जीविको–पार्जनको मूलभूत आवश्यकताहरूबाट माथि उठी जीवनलाई हेर्न अनि सोहीअनुसार यसलाई सञ्चालन गर्न सक्नुहुन्छ । दुर्भाग्यवश्, जीविका चलाउने आवश्यकताहरूभन्दा पर हेर्नुको सट्टा, अधिकांश मानिसहरूले आफ्नो जीविको–पार्जनको स्तरलाई नै माथि उठाएका छन् । यस्तो समय थियो, जहाँ दिनमा एक वा दुई छाक भोजन पाउनु जीविकोपार्जन वा जीवनयापन हुने गर्थ्यो । अहिले, जीविको–पार्जन भनेको बि.एम.डब्लू कार प्राप्त गर्ने भएको छ ! मानव प्रणालीलाई उपयोग गर्ने यो तरिका निकै मूर्खतापूर्ण छ, किनकि मानव प्रणालीमा पूर्णतया फरक सम्भावना रहेको हुन्छ ।
भौतिकताः रङ्गको लेप
योगमा, मानिसको ढाडको हड्डीलाई मेरुद्दण्ड भनिन्छ, जसको अर्थ हो ब्रम्हाण्डको धुरी । व्यक्तिको मेरुद्दण्ड कसरी ब्रम्हाण्डको धुरी हुन सक्छ ? आज, आधुनिक विज्ञानले समेत यो स्वीकारेको छ कि पूरै अस्तित्व केवल स्पन्दन हो । यसलाई गहिराइमा हेर्ने हो भने, त्यही ऊर्जा कैयौँ रूपहरूमा स्पन्दित भइरहेको छ । त्यसैगरी, आज हामीलाई यो पनि थाहा छ कि यो विशाल सृष्टि पूर्णतया खालीपनमा वा शून्यताको काखमा अडिरहेको छ, जसलाई वैज्ञानिकहरू केही नाम दिने प्रयास गरिरहेका छन्, जस्तै कि डार्क इनर्जी (अन्धकारमय ऊर्जा) । तर, हामीलाई यो थाहा छ कि त्योभन्दा पर समेत पूर्णतया खाली स्थानहरू छन् । सबैभन्दा स्थूल भौतिक रूप देखि जसलाई तपाईं दिव्य वा चैतन्य भन्नुहुन्छ, ती सबैको आधार एउटै हो । जस्तै कि जब तपाईं ब्रसले पेन्ट गर्नुहुन्छ, शुरुमा रङ्ग गाढा र बाक्लो हुन्छ, त्यसपछि बिस्तारै–बिस्तारै यो पातलो हुँदै जान्छ अनि अन्त्यमा केही पनि रहँदैन— पूरै शून्य हुन्छ । सृष्टिको रचनाको प्रक्रियामा, मनुष्यको रूपमा तपाईं त्यस शून्यताको अधिक नजिक हुनुहुन्छ ।
मानिसमा स्पन्दन मूलभूत रूपमा मेरुद्दण्डबाटै उत्पन्न हुन्छ । यो जति बढी सूक्ष्म हुन्छ, त्यति टाढासम्म जान्छ । यदि यो बढी स्थूल वा जड छ भने, यो निश्चित दुरीसम्म मात्रै रहन्छ । यदि यो अत्यन्तै सूक्ष्म बन्यो भने, तपाईं यसलाई जतासुकै फैलाउन सक्नुहुन्छ । जब तपाईंको स्पन्दन जताततै फलिन्छन्, तपाईं जुनसुकै कुरालाई बोध गर्न सक्नुहुन्छ । यतिखेर, आफ्नो सीमित अस्तित्वको आधारमा तपाईं जसलाई “म” भन्नुहुन्छ, ती तपाईंको संवेदनाको सीमाभित्रै रहेका छन् । जे–जति कुरा तपाईंको अनुभूतिको सीमाभित्र छन्, ती तपाईं हो । जे–जति कुरा तपाईंको अनुभूतिको सीमाबाहिर छन्, ती अरू व्यक्ति वा अरू चिज हुन् । यदि तपाईंले आफ्नो स्पन्दनलाई सूक्ष्म बनाउँदै लैजानुभयो भने, तपाईं आफ्नो अनुभूतिको सीमालाई अन्तहीन रूपमा फैलाउन सक्नुहुन्छ । “शिवले तेस्रो नेत्र खोले” भन्नुको अर्थ के हो भने, उनले आफ्नो अनुभवको सीमालाई असीमित रूपमा विस्तार गरे । अत: सम्पूर्ण अस्तित्व उनकै अंश हो अनि स्वाभाविक रूपमा शिव नै मूल केन्द्र हुन् । तर, शिव नै केन्द्र हुन् भन्ने कुरा कसरी थाहा हुन्छ ?
समय र स्थानको भ्रम
आज आधुनिक विज्ञानले कुनै दुबिधा बिनै यो प्रमाणित गरेको छ कि तपाईंले समय र स्थानलाई जुन रूपमा जान्नुभएको छ, त्यो पूर्णतया भ्रमपूर्ण छ । समय र स्थान दुवै विस्तार हुन सक्छन्, फैलिन सक्छन् । तपाईं तिनलाई आफूले चाहे जसरी बदल्न सक्नुहुन्छ । जुन कुरा १००० प्रकाश वर्ष टाढा छ, त्यसलाई अहिल्यै घटित गराउन सकिन्छ । जे १०,००० वर्ष पहिले भयो अनि जे १०,००० वर्ष पछि हुनेछ, त्यसलाई यतिखेरै गराउन सक्नुहुन्छ— किनकि, जे–जति छ त्यो यहीँ र अहिल्यै छ । म कुनै गूढ वा रहस्यविद्याको कुरा गरिरहेको छैन । आधुनिक विज्ञानले भनेअनुसार समय र स्थान ठूलो भ्रम हो । तपाईं यिनलाई जसरी चाह्यो त्यसरी बुझ्न सक्नुहुन्छ । अझ भन्नुपर्दा, आज केही वैज्ञानिकहरूले स्पष्ट रूपमा यो भनिरहेका छन् कि न त समय हुन्छ, न त स्थान ! उनीहरू सही छन् । यही बुझाइबाट हामीले यो भनेका हौँ कि तपाईंको मेरुद्दण्ड ब्रम्हाण्डको धुरी हो । अथवा, कम्तीमा पनि तपाईं विशेष रूपमा स्पन्दित हुन सक्नुभयो भने, तपाईंको मेरुद्दण्ड ब्रह्माण्डको धुरी बन्न सक्दछ ।
शरीर— चमत्कारपूर्ण साधन
यो शरीर एउटा साधन हो । के तपाईं यसलाई केवल खाना र अरू चिजहरू जम्मा गर्न प्रयोग गर्नुहुनेछ ? तपाईं यसलाई साहसिक कार्यहरूको लागि प्रयोग गर्नुहुनेछ ? अथवा, तपाईं यसलाई सम्भव भएसम्म सबैभन्दा उच्च तरिकाले प्रयोग गर्नुहुनेछ ? यदि तपाईं यसलाई साधनको रूपमा प्रयोग गर्न चाहनुहुन्छ भने, पहिलो र मुख्य कुरा भनेको तपाईंले शरीरसँग पहिचान जोड्न बन्द गर्नुपर्छ । तपाईंलाई राम्रोसँग थाहा छ कि यो शरीर तपाईंले बाहिरबाट सङ्ग्रह गर्नुभएको हो— यो भोजनको थुप्रो हो । तपाईंले जे–जति जम्मा गर्नुभएको छ, त्यसलाई कसरी “म” भन्न सक्नुहुन्छ ? तपाईंले जे–जति जम्मा गर्नुभएको छ, केही समयको लागि त्यो तपाईंको हुन सक्छ, तर त्यो कहिल्यै तपाईं हुन सक्दैन ।
मानव शरीर यति चमत्कारपूर्ण छ कि यदि तपाईंले यसलाई एउटा जीवन–कालमै जान्ने कोशिस गर्नुभयो भने, यसको लागि थुप्रै कुराहरू गर्नुपर्ने हुन्छ । तर, कुनै न कुनै रूपमा मानिसहरू आफ्नो शरीरसँग यति गहिरो रूपमा आशक्त छन् कि उनीहरू शरीरलाई साधनको रूपमा प्रयोग गर्न सक्दैनन् । मानिसहरूमा शरीरसँगको आशक्ति र पहिचान यति गहिरो छ कि उनीहरू शरीरलाई नै “आफू” ठान्छन् । जब तपाईं आफ्नो शरीरलाई “म” भन्नुहुन्छ, यसप्रति विशाल मात्रामा भावना जोडिन्छ । तब हामी शरीरलाई साधनको रूपमा प्रयोग गर्न सक्दैनौँ ।
योगमा रहेको भूत–शुद्धि को सम्पूर्ण प्रक्रिया पञ्च–तत्त्वहरूबाट मुक्त हुनको लागि हो । यदि तपाईंले स्पष्ट रूपमा आफू र पाँच तत्त्वहरूबिच दुरी बनाउनुभयो भने, तपाईं र तपाईंको शरीरबिच पनि स्पष्ट दुरी हुनेछ ।
जब तपाईं आफू र आफ्नो शरीरबिच अलिकति स्थान बनाउनुहुन्छ, त्यसबेला तपाईं यस प्रकारको अद्भुत मेशीन आफूलाई दिइएको रहेछ भन्ने कुरा जानेर एकदमै आनन्दित बन्नुहुनेछ । तपाईंलाई बन्धनमा पार्ने वा मुक्त गर्ने सम्पूर्ण सामग्रीहरू यही शरीरभित्र छन् । तपाईं यसलाई दिव्य बनाउन सक्नुहुन्छ— तपाईं आफ्नो ऊर्जा प्रणालीलाई यसरी सञ्चालित गर्न सक्नुहुन्छ कि तपाईंको शरीर देवतूल्य (देवता) बन्नेछ । वा, तपाईं लास जसरी रहन सक्नुहुन्छ । हामी भन्ने गर्छौँ— तपाईं आफ्नो शरीरलाई कि त शव बनाउन सक्नुहुन्छ वा शिव बनाउन सक्नुहुन्छ । शव अर्थात् मृत शरीर वा लास । शिव अर्थात् परम–सत्य । यो कुरा तपाईं आफ्नो शरीरसँग के गर्नुहुन्छ भन्नेमा निर्भर गर्दछ । मानव शरीर ती रूपहरूमा समेत काम गर्न सक्दछ भन्नेबारे तपाईंले कहिल्यै कल्पना नै गर्नुभएको छैन ।
–सदगुरुको प्रवचनमा आधारित