काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रभु साहले एमसीसी राष्ट्रघाती सम्झौता भएकाले कुनै पनि हालतमा रोक्नुपर्ने बताउनुभएको छ । २०७८ सालको शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुक्रबार फतुवा विजयपुर नगरपालिका ३, टेंग्राहामा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता साहले यस्तो बताउनुभएको हो ।
नेता शाहले एमसीसी सम्झौता राष्ट्रघाती रहेकोले यसलाई लागू गरे देशमा द्वन्द्व हुन सक्ने भन्दै कुनै पनि उपायले रोक्न सचेत गराउनुभयो ।
कम्युनिष्टको खोल ओढेका माधव र प्रचण्डहरुले जनतासँग गद्दारी गर्दा प्रतिकृयावादी कांग्रेसको पुच्छर बनेर एमसीसी पास गर्ने षडयन्त्र गरेको भन्दै जनताले रोक्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो- ‘अमेरिकाको केही अर्ब रूपैयाँ अनुदानको नाममा देशमा द्वन्द्व निम्त्याउन राष्ट्रघाती एमसीसी सम्झौता गर्न कांग्रेस नेतृत्वको सरकार विदेशीसामु नतमस्तक छ । कांग्रेस मात्र होइन, माधव नेपाल, प्रचण्ड र उपेन्द्र यादव समेत एमसीसी सम्झौता पारित गर्न मतियार बनेका छन्।’ उहाँले अगाडि भन्नुभयो, ‘देशलाई द्वन्द्वमा फसाउने यो राष्ट्रघाती सम्झौता कुनै पनि हालतमा रोक्नुपर्छ । यसका लागि देशका सबै जनता एकताबद्ध हुनुपर्छ ।’