काठमाडौं । आगामी फेब्रुअरीसम्म युरोपमा कोभिडले थप ५ लाखको मृत्यु हुनसक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ।
पछिल्लो समय युरोप महादेशमा दिनहुँजसो कोरोना भाइरसका नयाँ बिरामी बढिरहेका बेला डब्लुएचओले यस्तो खतरा औंल्याएको हो । समयमै सतर्कता नअपनाएमा फेरि युरोप कोभिडको केन्द्र बन्न सक्ने खतरा अझै टरिनसकेको डब्लुएचओको भनाइ छ।
बिहीबार आयोजित एक पत्रकार सम्मेलनमा डब्लुएचओका युरोप प्रमुख हान्स क्लुगले कोभिडको जोखिम उस्तै रहेको र मृतक संख्या अझै बढ्नसक्ने भन्दै सबैलाई सतर्क रहन आग्रह गर्नुभएको छ । युरोपमा खोप कार्यक्रम सबैको पहुँचमा नपुगेकाले यस्तो जोखिम कायम रहेको उहाँको तर्क थियो ।
‘अझै हामीले सतर्कता अपनाउन सक्छौं । खोप सबैले लगाउनुपर्छ र त्यसका लागि सबै मुलुकले आवश्यक व्यवस्था मिलाउनुपर्छ । सुरक्षा सतर्कताका अन्य उपाय पनि अपनाउनुपर्छ,’ हान्सले भन्नुभयो । पछिल्लो समय युरोपमा खोप लगाउने दर घटेको भन्दै विश्व स्वास्थ्य संगठनले चिन्ता व्यक्त गरेको छ । अझै पनि युरोपका धेरै मानिस खोप लगाउन अनिच्छुक रहेकाले तिनीहरुलाई कसरी खोप दिलाउने भन्ने चुनौती रहेको छ ।
डब्लुएचओको पछिल्लो तथ्यांक अनुसार फ्रान्समा ६८ प्रतिशत, जर्मनीमा ६६ प्रतिशत, स्पेनमा ८० प्रतिशत र रुसमा ३२ प्रतिशत मात्र व्यक्तिले खोप लगाएका छन् । अहिलेसम्म युरोपेली क्षेत्रमा कोरोना भाइरस संक्रमणले १४ लाख मानिसको ज्यान गइसकेको डब्लुएचओले जानकारी दिएको छ ।
केही महिनायता युरोपमा कोभिडविरुद्घको सुरक्षा सतर्कता खुकुलो बनाएसँगै संक्रमण बढेको डब्लुएचओको ठहर छ। अनिवार्य मास्क लगाउने, भौतिक दुरी कायम गर्ने र स्यानिटाइजर प्रयोगमा विशेष ध्यान दिनुपने डब्लुएचओको सुझाव छ ।



















