दीपावली मनाइनुको विभिन्न सांस्कृतिक कारणहरू छन्, तर ऐतिहासिक रूपमा यसलाई नरक चतुर्दशी भनिन्छ, किनकि यस दिन एकदमै क्रुर राजा नरकासुरलाई कृष्णले वध गरेका थिए । त्यही दिनको स्मरणको रूपमा यसलाई भव्य उत्सवको रूपमा मनाइने गरिन्छ । अनिष्ट वा अशुभ कुरा राक्षसहरूको रूपमै आउनुपर्छ भन्ने छैन । तपाईंले देख्दै नदेख्नु भएका राक्षसहरूले भन्दा पनि निराशा, कुण्ठा र उदासिपनले तपाईंको जीवनमा बढी क्षति पुऱ्याउन सक्छन् । दीपावली, आफूभित्र रहेका ती सम्पूर्ण नकारात्मक पक्षहरूलाई समाप्त गर्नको लागि स्मरण गराउने पर्व हो ।
दीपावली शुभ उत्सव हुनुको पछाडि थुप्रै कारणहरू छन् । यस्तो मान्यता छ कि यस दिन कसैलाई धन चाहिएको छ भने, लक्ष्मी आउने छिन् । यदि कसैलाई स्वास्थ्य चाहिएको छ भने, शक्ति आउने छिन् । यदि कसैलाई विद्या चाहिएको छ भने, सरस्वती आउने छिन् । यी सबैकुराले प्रतिकात्मक रूपमा यो दर्शाइरहेका छन् कि यो पर्व खुसियाली र कल्याणको निम्ति हो ।
आफूभित्र स्पष्टता उदय हुन दिनुहोस्
दीपावली प्रकाशको उत्सव हो । दीपावलीमा हरेक शहर, गाउँमा जताततै दीपावली गरिन्छ । तर, यो उत्सव बाहिर दियो बाल्नको लागि मात्रै होइन— तपाईंभित्र प्रकाश उदय हुनुपर्छ । प्रकाश भनेको स्पष्टता हो । यदि स्पष्टता भएन भने, तपाईंमा रहेका सबै गुणहरू वरदान बन्नुको सट्टा अभिशाप बन्दछन् । किनकि, स्पष्टता बिना आत्मविश्वास हुनु दुर्दशा हो । अनि, अहिले संसारमा स्पष्टता बिनै थुप्रै कामहरू गरिँदै छन् ।
आवश्यक स्पष्टता बिना तपाईं चाहे जेसुकै गर्ने प्रयास गर्नुहोस्, त्यो दुर्दशा नै हुनेछ । प्रकाशले तपाईंको दृष्टिमा स्पष्टता ल्याउँदछ— शारीरिक पक्षमा मात्रै होइन । तपाईं जीवनलाई कति स्पष्ट रूपमा देख्नुहुन्छ अनि वरपरको कुरालाई स्पष्ट रूपमा बोध गर्नुहुन्छ भन्ने कुराले तपाईं आफ्नो जीवनलाई कति समझदारीपूर्वक अघि बढाउनुहुन्छ भन्ने कुरा निर्धारण गर्दछ । दीपावली त्यो दिन हो, जब अन्धकारमय शक्तिहरूलाई नष्ट गरिएपछि प्रकाशको उदय भएको थियो । मानिसले अन्त कतैबाट उज्यालो ल्याउनु पर्दैन । यदि उसले आफूभित्र जम्मा हुन दिएको कालो बादलहरू हटाउने हो भने, स्वत: उज्यालो हुनेछ । प्रकाशको पर्वले त्यही कुरा स्मरण गराउँछ ।
यस संस्कृतिमा कुनै पनि पर्वलाई आफ्नो जीवनमा उल्लास र उत्साहले भर्ने साधनको रूपमा लिइन्थ्यो । पहिला यस्तो समय थियो, जहाँ वर्षभरिमा ३६५ वटा चाडपर्वहरू हुने गर्दथे— हरेक दिन एउटा पर्व हुन्थ्यो । पहिले, चाडपर्व भन्नेबित्तिकै पूरै गाउँ वा शहर भेला भएर ठूलो उत्सवको रूपमा मनाउने गर्दथे । आजको कुरा गर्ने हो भने, मानिसहरू वर्षभरिमा ८–१० वटा मात्रै पर्वहरू मनाउने गर्छन्, किनकि थुप्रै मानिसहरू अफिस जानुपर्ने हुन्छ वा अरू दैनिक काममा व्यस्त हुने गर्छन् । दुर्भाग्यवश, अहिले चाडपर्व आउँदा तपाईंले कामबाट छुट्टि पाउनुहुन्छ, अनि तपाईं १२ बजे मात्रै उठ्नुहुन्छ । त्यसपछि, तपाईं टन्न खानुहुन्छ अनि कतै फिल्म हेर्न जानुहुन्छ वा घरमै बसेर टि.भी हेर्नुहुन्छ । यदि बाहिरबाट केही थप्नुभयो भनेमात्र अलिकति नाच्नुहुन्छ । अन्यथा, त्यहाँ नाचगान पनि हुँदैन ।
यदि यस्तै रहन दिने हो भने, आगामी पिँढी सामु कुनै पर्व रहने छैन । उनीहरूलाई पर्व भनेको के हो भन्ने समेत थाहा हुने छैन । कमाउने र खाने, कमाउने र खाने— उनीहरू यहीमात्र गरिरहने छन् । पहिला यस्तो थिएन । पर्व भन्नेबित्तिकै पूरै गाउँ भेला हुन्थ्यो अनि त्यहाँ भव्य उत्सव मनाइन्थ्यो । चाडपर्वमा सवेरै चार बजेतिर उठिन्थ्यो अनि पूरै घरभरि जोडतोडले थुप्रै कामहरू हुने गर्थे । मानिसहरूमा उत्सवको संस्कृति फर्काउनको लागि ईशा योग केन्द्रमा चारवटा मुख्य पर्वहरू मनाइने गरिन्छ: मकर सङ्क्रान्ति (पोङ्गल), महाशिवरात्रि, नवरात्रि अनि दीपावली ।
गम्भीर नबन्ने, तर पूर्णतया संलग्न रहने
यदि तपाईंले हरेक कुरालाई उत्सवको रूपमा लिनुभयो भने, तपाईं जीवनमा गम्भीर नभइकन पूर्ण रूपमा संलग्न रहन सिक्नुहुन्छ । यतिखेर मानिसहरूको समस्या के हो भने, उनीहरूलाई कुनै काम महत्त्वपूर्ण लाग्यो भने, उनीहरू एकदमै गम्भीर बन्दछन् । यदि उनीहरूलाई कुनै काम खासै महत्त्वपूर्ण लागेन भने, उनीहरूमा कुनै जाँगर नभएर शिथिल बन्छन्— उनीहरू त्यसमा संलग्न रहन सक्दैनन् । जब कोही भन्छन्, “ऊ असाध्यै गम्भीर छ”, तपाईंले बुझ्न सक्नुहुन्छ कि ऊ अब कता पुग्दैछ ! थुप्रै मानिसहरू यस्तै गम्भीर अवस्थामा रहने गरेका छन् । मानिसहरूको निम्ति जुन कुराले महत्त्व राख्दैन, उनीहरू त्यसमा संलग्न रहन र आफूलाई समर्पित गर्नै सक्दैनन् । यही मुख्य समस्या हो । तर, जीवनको रहस्य सदैव यसमै रहेको छ— सबैथोकलाई गम्भीर नभइकन हेर्ने, तर पूर्ण रूपमा संलग्न र सहभागी हुने । खेल जसरी । यही कारणले गर्दा जीवनको निकै गहन पक्षहरूलाई उल्लासमय रूपमा लिने गरिन्छ, ताकि तपाईं त्यसको मूल कुराबाट नचुक्नुहोस् ।
दीपावली पर्व, तपाईंको जीवनमा उत्सव र उल्लासको पक्ष भित्र्याउनको लागि हो— त्यसैकारण पटका, ताकि तपाईंमा अलिकति अग्नि सल्काउन सकियोस् ! यसको सोच एकदिन मात्रै मनोरञ्जन गर्ने भन्ने होइन । हामीभित्र हरेक दिन त्यो स्थिति हुनुपर्छ । यदि हामी यत्तिकै बस्यौँ भने, हाम्रो जीवन ऊर्जा, हृदय, मन र शरीर जीवन्त भएर बिस्फोटित हुनुपर्छ । यदि तपाईं ओस्सिएको पटाका हुनुभएको छ भने, तपाईंलाई हरेक दिन बाहिरबाट केही चाहिने हुन्छ ।
–सदगुरुको प्रवचनमा आधारित