चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माडी अयोध्याधामस्थित राम मन्दिरमा पूजा एवं दर्शन गर्नुभएको छ । उहाँले मूर्तिहरूमा पूजा गर्नुका साथै मन्दिरको परिक्रमा गर्नुभयो ।
माडी नगरपालिका–९ अयोध्याधाममा अस्थायी मन्दिर निर्माण गरिएपछि पहिलो पटक अध्यक्ष ओलीले स्थलगत अवलोकन गर्नुभएको हो । अयोध्याधाममा उहाँलाई स्थानीयहरूले पुष्पगुच्छा र मालाले स्वागत गरेका छन् ।
दुईदिने विभिन्न कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली सोमबार चितवन आउनुभएको हो । प्रधानमन्त्री भएका बेला उहाँले यहाँ भगवान रामको जन्म भएको र यसै ठाउँमा राम मन्दिर निर्माण गरी राम, लक्ष्मण, सीता र हनुमानको मूर्ति स्थापना गर्न निर्देशन दिनुभएको थियो । गत ८ वैशाखमा राम मन्दिरमा मूर्ति स्थापना गरिएको हो ।
माडी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र हो । प्रचण्डले भने अध्यक्ष ओलीले आफूलाई प्रहार गर्नकै लागि माडीमा राम मन्दिर बनाएर मूर्ति स्थापना गर्न लगाएको आरोप लगाउने गर्नुभएको छ ।