काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामाबाहेकको विषयमा छलफलको प्रस्ताव लिएर आउन न्यायाधीशहरुलाई आग्रह गर्नुभएको छ । न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र मनोजकुमार सिंहसँगको भेटमा प्रधानन्यायाधीश जबराले यस्तो आग्रह गर्नुभएको हो ।
आफूले कुनै हालतमा राजीनामा नदिने उहाँले स्पष्ट पार्नुभएको छ । स्रोतका अनुसार न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र मनोजकुमार सिंहसँगको भेटमा प्रधानन्यायाधीश जबराले न्यायपालिकामा के के सुधारका काम गर्न सकिन्छ र कसरी आमूल परिवर्तन गर्न सकिन्छ भन्ने प्रस्ताव लिएर आउन भन्नुभएको छ । तर, उहाँले राजीनामा नदिने स्पष्ट पार्दै त्यसबाहेक आफूले के के गर्नुपर्ने सुझावसहित आउन भन्नुभएको हो ।
आफू न्यायापालिकामा व्यापक सुधारको पक्षमा विगतमा नै भएको र त्यसमा साथ दिन पनि आग्रह गर्नुभयो । मापदण्ड बनाएर न्यायाधीशहरुलाई पेशीमा राख्ने देखि जिम्मेवारी दिने विषय पनि जबराले राख्नुभएको थियो । प्रधानन्यायाधीश जबराले आज पनि न्यायाधीशहरुसँग छलफल गर्दै हुनुहुन्छ । उहाँमाथि सर्वोच्चका न्यायाधीशदेखि नेपाल बार एशोशिएसन, सर्वोच्च बारले राजीनामाको दबाब दिइरहेका छन् ।