काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने दाबी गर्नुभएको छ ।
एमाले भरतपुर नगर कमिटीको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठजोड नगरी एमाले एक्लैले बहुमत ल्याउने जिकिर गर्नुभयो । यसका लागि एकताबद्ध भएर तयारीमा लाग्न उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो ।
‘अब हामी आफ्नै एकल बहुमत ल्याउँछौं । जोडजाड होइन, एकल बहुमत । ५० प्रतिशतभन्दा बढी मत समानुपातिक र ५० प्रतिशतभन्दा बढी सीट प्रत्यक्षमा ल्याउनुपर्छ । त्यसका लागि तयारीमा लाग्नुस् । हामी सफल हुन्छौं,’ उहाँले भन्नुभयो ।
अध्यक्ष ओलीले पाँच दल होइन १० मिलेर आए पनि एमाले बहुमतका साथ आउने चुनौती दिनुभयो । ‘एमालेको महासागर, महाभेल अब आउँदैछ । कसैले रोक्न सक्दैन । सचेत तयारी गर्नुपर्छ । आन्तरिक एकता गर्ने हो । लड्नलाई विरोधी छँदैछन्,’ उहाँले भन्नुभयो ।
एमालेले चितवनमा हुने १०औं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेपालको गन्तव्यमा पुग्ने बाटो र नयाँ संकल्प गर्ने अध्यक्ष ओलीले बताउनुभय । ‘महाधिवेशन गरेर बाहिर निस्केर देश बनाउन लाग्छौं,’ उहाँले भन्नुभयो ।
अध्यक्ष ओलीले वर्तमान सरकारले समय बर्बाद गरेको टिप्पणी गर्नुभएको छ । आन्तरिक भागवण्डा मिलाउन नसकेर तीन महिनासम्म सरकार विस्तार गर्न नसकेको उहाँको भनाइ थियो ।
‘यी पञ्चमुखीहरु खान बसेका छन् । देशलाई अल्मल्याएका छन् । तीन महिनामा सरकार बन्न सक्दैन । अलिक पछाडि आफैं ढले अचम्म मान्नुपर्दैन,’ उहाँले भन्नुभयो ।
यो सरकार दिनदिनै लुतो लागेको कुकुरजस्तो खुइलिँदै जाने उहाँको भनाइ छ । ‘हामी सरकार ढाल्नतिर लाग्दैनौं । हामीले चाह्यौं भने ७ दिनमा ढाल्दिन्छौं । तर यो सरकार आफैँ खुइलिँदै जान्छ । यता मिलाएको छ, उता मिलाएको छ । समय बर्बाद गरेको छ,’ उहाँले भन्नुभयो ।
उहाँले सत्ता गठबन्धन अब चुनावबाट भाग्न नपाउने पनि उल्लेख गर्नुभयो । ‘चुनावबाट कहिलेसम्म भाग्लान् ? दुईपटक भागे । अब आफैँ चुनाव गराउनुपर्छ । स्थानीय चुनावमा यिनीहरुलाई घोडाले पछारेझैँ पर्छानुपर्छ,’ उहाँले भन्नुभयो, ‘यस (भरतपुर) महानगरमा अरुले उम्मेदवार हाल्ने मन लाग्ने हाल्छ । तर जित्ने एमाले हो । नेकपा एमाले कुटाकुट गर्ने बार हो र ? लोकतान्त्रिक पार्टी हो ।’
एक अर्को प्रसंगमा अध्यक्ष ओलीले न्यायाधीशहरुको तमासाले अदालतमा सेटिङ पुष्टि भएको तर्क गर्नुभयो । एमाले भरतपुर नगर कमिटीको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अदालतमा सेटिङ गरेर परमादेश आएको कुरा न्यायाधीशहरु आफैँले भण्डाफोर गरेको बताउनुभयो ।
‘जालझेल, सेटिङ, तिकडम गरेर, अदालत मिलाएर, मिलाएको रहेछ भन्ने त एकपछि अर्को न्यायाधीशहरु आफैं भन्न थाले । बकपत्र सुरु भयो । अमेरिकाबाट इमेल पठाए । पढ्दा पढ्दै, पढिनसक्दै चुपचुप, बन्द गर, बन्द गर भनेर तमासा गरेका छन् । बन्द गर, बन्द गर । रोक, रोक,’ उहाँले भन्नुभयो, ‘न्यायाधीशको इमेल के के न होला भनेर पढ्दा पढ्दै छोप्नुपर्यो । बन्द गर, बन्द गर । रोक, रोक । यो सत्य बाहिर जाँदा त के के पो निस्किने हो, भण्डाफोर भयो । आधामै रोकायो । चौथाईमै रोकायो । के हालत छ ?’
प्रतिक्रियावादीहरुले यस्ता खालका चाहिने नचाहिने क्रियाकलाप गर्ने गरेको उहाँको भनाइ छ । ‘यिनीहरुले जनताको शक्तिलाई लल्कार्ने कुरा गर्छन् । अमेरिकाबाट लेखिएको इमेल के भन्छ, एकदम खतरनाक शक्ति अगाडि बढेका हुनाले सरकारबाट खसाल्नै पर्छ । संवैधानिक ढंगले जान सकिएन । त्यसकारण असंवैधानिक ढंगले जानुपर्यो,’ उहाँले भन्नुभयो ।
एमालेलाई सरकारबाट ढाल्न कुनै संवैधानिक बाटोबाट सम्भव नभएको, एमाले फुटाउन संवैधानिक बाटो नभएकाले जालझेल गरिएको उहाँको आरोप थियो । ‘४० लाई २० प्रतिशतमा झारियो । हामीले निष्काशन गरेका, कारवाही गरेकालाई कायम राखेर, बलजफ्ती, संविधानको धज्जी उडाएर, मर्यादित संस्थाहरुको हुर्मत लिएर एमालेलाई परमादेशबाट हटाइयो,’ उहाँले भन्नुभयो, ‘किनभने कुनै वैधानिक र सही बाटोबाट एमालेलाई सकिँदै सकिँदैन । त्यसकारण गलत बाटोबाट परमादेशबाट हटाइयो । एमालेसँग अगाडिबाट लड्ने हिम्मत छैन । त्यसकारण पछाडिबाट झुक्याएर परमादेशबाट हटाइयो । परमादेश भनेको त झुक्याएर असंवैधानिक ढंगबाट पछाडिबाट हान्ने रहेछ ।’