काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन नगरे पनि आगामी चुनावमा चितवन एमालेले नै जित्ने दाबी गर्नुभएको छ ।
एमालेले महाधिवेशन गरेर माओवादीलाई घेराबन्दी गर्न खोजेको अध्यक्ष प्रचण्ड र भरतपुरकी मेयर रेणु दाहालको गुनासोको प्रतिउत्तरमा अध्यक्ष ओलीले महाधिवेशन नगरे पनि एमालेले कब्जा गर्ने दाबी गर्नुभयो ।
‘चितवनको महाधिवेशन गर्ने भन्या के थियौं । मानिलिउ यो जिल्ला नै मेरो जस्तो गर्छन् बा । चितवनमा महाधिवेशन गर्ने कौन्सा ठूलो कुरा भयो । हामीले पहिले बुटबलमा महाधिवेशन गर्यौँ । नेपालगंजमा गर्यौँ । जनकपुरमा गर्यौं । किन छटपटि ?’ उहाँले प्रश्न गर्नुभयो, ‘महाधिवेशन गरेरमात्रै हामीले यो जिल्ला कब्जा गर्ने होइन, जित्ने होइन । महाधिवेशन नगरे पनि जित्छौं, महाधिवेशन गरे पनि जित्छौं । हामीले यहाँ महाधिवेशन गर्दा किन टाउको दुखाई ? महाधिवेशन नगरे आफू जित्नेजस्तो पो गर्छन् ।’
अध्यक्ष ओलीले अब चितवन सूर्यमय हुने दाबी पनि गर्नुभयो । ‘जनताले एकपटक धोका पाए । म त धोका पाएर दुईतीन पटक भोट माग्न आएँ । अब जनता लाटा छैनन् झण्डै दुई तिहाई पुगेको कम्युनिस्ट पार्टी ध्वस्त पार्ने, को को हुन् चिन्या छैनन् ? अब जनताले चुनावमा भोट हाल्दा हात उनीहरुतिर जान थाल्यो भने पनि कार्यकर्ताले नै यस्सो वरतिर सूर्यमा हाल्छन् । अब त्यो जमाना रहेन । अब सूर्यको जमाना आयो,’ उहाँले भन्नुभयो ।
एमाले भरतपुर नगर कमिटीको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भरतपुरमा मतपत्र च्यातेर छोरी जिताइएको, अदालतमा सेटिङ गरेर परमादेश जारी भएको कुराहरु भण्डाफोर भएकाले जनताले अरुलाई विश्वास नगर्ने तर्क गर्नुभयो ।