चितवन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीको १० औँ महाधिवेशन स्थलको निरीक्षण गर्नुहुने भएको छ । उहाँले निरीक्षणपश्चात महाधिवेशनस्थलको समग्र तयारीबारे समेत आवश्यक जानकारी लिनुहुने भएको छ ।

एमालेको १० औं महाधिवेशन आगामी मङ्सिर १०, ११ र १२ गते यहाँ हुँदैछ ।

अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन सत्र हुने नारायणी नदी किनार र बन्द सत्र हुने सौराहाका सम्भावित ठाउँको निरीक्षण गर्नुहुने कार्यक्रम तय गरिएको छ ।

उद्घाटन सत्रको टुङ्गो लागे पनि बन्द सत्र होटलमा वा खुल्ला ठाउँमा गर्ने भन्ने विषयमा निर्णय भइसकेको छैन ।

अध्यक्ष ओलीले आज निरीक्षण गरेसँगै ठाउँको टुङ्गो लाग्ने एमालेका जिल्ला अध्यक्ष पार्वती रावलले बताउनुभयो । महाधिवेशनमा दुई हजार हाराहारी प्रतिनिधि हुने उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष ओली आज काठमाडौँबाट स्थलमार्ग हुँदै चितवन आउँदै हुनुहुन्छ । चितवन आएलगत्तै उद्घाटन स्थलको स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

सोपश्चात् नेकपा (एमाले) भरतपुर महानगर कमिटीको प्रथम अधिवेशन उद्घाटनपछि उहाँ महाधिवेशनको बन्द सत्र हुने सौराहा जाने कार्यक्रम रहेको रावलले बताउनुभयो ।

दुई दिनको चितवनको बसाइका क्रममा अध्यक्ष ओलीले माडीको अयोध्याधाम र नारायणी नदीमा क्रुजको अवलोकन गर्नुहुने कार्यक्रम रहेको छ ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीलाई बाटोका विभिन्न स्थानमा नेकपा एमालेका नेता कार्यकर्ताले स्वागत गर्ने कार्यक्रम राखेका छन् । ओलीकाे चितवन बसाइका क्रममा विभिन्न नेता कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

बुटवलमा हुने भनिएको महाधिवेशन अन्तिम चरणमा आएर चितवन सारिएको हो ।