खोटाङ । खोटाङमा १४ करोड खर्चेर प्रथम किराती राजा यलम्बर हाङको शालिकसहितको पार्क बनाउन एक सय वटा चिहान भत्काइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुईपाको पञ्चरदोबाटोमा चिहान भत्काइएपछि स्थानीयले विरोध जनाएका छन् । त्यहाँ यलम्बरको एक सय फिट अग्लो शालिक राखिँदैछ ।
१५-२० वटा चिहान भत्काउने र कंकाल,अवशेष संकलन गरेर आत्मघर बनाएर राख्ने भनिए पनि एक सयभन्दा बढी चिहान भत्काइएको नवगठित भूमिपुत्र किरात उपभोक्ता समितिका डार्विन राईले बताए । चिहान भत्काइएपछि उपभोक्ता समितिमा आवद्ध स्थानीय विरोधमा उत्रिएका छन् । विरोधकै कारण ७ कात्तिकदेखि शालिक तथा पार्क निर्माणको काम अगाडि बढ्न सकेको छैन । २ कात्तिकमा शालिक तथा यलम्बर पार्क शिलान्यास गरिएको थियो ।
तर, बुईपाका वडाध्यक्ष दिनेश राई चिहानको व्यवस्थापन गर्ने सहमतिमा काम अघि बढे पनि ‘मान्छे उचालेर’ विवाद निकालिएको बताउँछन् । साविकको बुईपा-३, ५, ९ लगायतका राई समुदायले सो स्थानमा चिहान बनाएका छन् । त्यहाँ करिब २ सय ८८ चिहान छन् ।
समितिले शालिक राख्ने स्थान परिवर्तनको माग गरेको छ । आइतबार वडा कार्यालयमा १० बुँदे लिखित ज्ञापनपत्र बुझाइएको छ ।
समस्या समाधानको प्रयास भइरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले रिजालले बताए । ‘प्रायः डाँडामा समाधिस्थल हुन्छन् नै । संरचना बनाउँदा खन्नैपर्छ, खन्दाखेरी केही अवशेष निस्केको हो । अवशेष निस्कन्छ भनेरै सबैको सम्झना हुनेगरी आत्मघर बनाएर राख्ने सल्लाह पहिलादेखि भएकै थियो,’ मेयर रिजालले भने, ‘असन्तुष्टि आउनु स्वभाविक हो । यो मानवीय संवेदनासँग सम्बन्धित विषय भएकाले चाँडै नै समाधान गरेर काम अगाडि बढाउने भन्ने नै छ ।’
नगरपालिकाको ३० प्रतिशत र प्रदेश १ को ७० प्रतिश गरी १४ करोडको लागतमा शालिकसहितको पार्क निर्माणको योजना अगाडि बढेको हो । उमा–तुवाचुङ-अनसुवी जेभीले निर्माणको ठेक्का लिएको छ ।

























