काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहले लोकतान्त्रिक पार्टीभित्र नेतृत्वले अलोकतान्त्रिक काम गर्दा त्यसको विरोधमा सशक्त आवाज उठाउनुपर्ने बताउनुभएको छ । नेतृत्वले हेलचक्र्याई गर्दा पार्टी इतिहासकै कमजोर अवस्थामा आइपुगेको उहाँको भनाइ छ ।
आइतबार नेपाली काँग्रेस किर्तिपुर नगर समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टीको नेतृत्व र अवस्था सुधार अन्य पार्टीका नेता कार्यकर्ताले नगर्ने भन्दै नेता सिंहले आफूहरू नै पार्टी सुधारमा लाग्नुपर्ने बताउनुभयो ।
‘पार्टीभित्रको समस्यामा कुरा हामीले नउठाए कस्ले उठाउँछ ? पार्टीको समस्या हामी आफै समाधान गर्ने हो,’ नेता सिंहले भन्नुभयो, ‘बाटो बिराउनेलाई बाटो देखाउनुपर्दछ । आलोचना गर्दा पार्टीको विधि र पद्धतिको रक्षा हुन्छ ।’ पार्टीभित्रका भजनमण्डलीले नेतृत्वलाई अलमलमा पारिरहेको उहाँको भनाइ छ ।
नेता सिंहले कांग्रेसको इतिहास राम्रो छ भन्दैमा चुप लागेर बसे आगामी चुनावमा जनताले त्यसको नतिजा देखाइदिने बताउनुभयो । इतिहासका साथसाथै अझै राम्रो गर्न सबै नेता कार्यकर्ता लाग्नुपर्नेमा उहाँको जोड छ ।
उहाँले १३औं महाधिवेशनपछि कांग्रेस इतिहासकै कमजोर अवस्थामा आइपुगेको बताउनुभयो । अहिलेकै अवस्था कायम रहे राष्ट्रिसभाको चुनावमा भाग लिनबाट पार्टी बञ्चित हुनुपर्ने जोखिम आएको भन्दै त्यसको जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्ने उहाँको भनाइ छ ।
विवाद मिलाउन पर्नेमा नेतृत्वले त्यसो गर्न नसकेको उहाँले आरोप लगाउनुभयो । केही व्यक्तिले आफ्नो पक्षमा मत लिनको लागि धाँधली गरेको र सदस्यता वितरणमा केही पुराना काँग्रेसीहरुलाई अन्याय भएको टिप्पणी गर्नुभयो ।
पार्टीभित्रको बेथिति र विकृति अन्त्यका लागि नयाँ पुस्ता आउनुपर्ने उहाँको धारणा थियो । विधि र पद्धतिको पालना गर्नुपर्छ भन्ने पार्टीले नै विधिको शासन मान्न छोड्यो भने जनताले विश्वास नगर्ने उहाँले चिन्ता व्यक्त गर्नुभयो । देशमा लोकतन्त्र जोगाउनको लागि पनि काँग्रेसभित्र विधिपद्धती जोगाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।
‘देशमा लोकतन्त्र जोगाउनका लागि कांग्रेसमा विधि पद्धति जोगाउन जरुरी छ । सक्षम प्रभावकारी पार्टीको रुपमा स्थापना पनि पहिले पार्टीभित्र विधि पद्धतिको स्थापना गर्नुपर्दछ,’ उहाँले भन्नुभयो, ‘त्यसो गर्न नसके प्रजा परिषद्को बाटोमा नेपाली काँग्रेस जान्छ ।’
त्यस्तै नेता सिंहले आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेद्वार बन्न आफू तयार रहेको बताउनुभयो । पार्टीलाई वडादेखि केन्द्रसम्म शक्तिशाली बनाउन र लोकतन्त्र जोगाउनको लागि आफू सभापति बन्नुपर्ने उहाँको तर्क थियो । पार्टीको तल्लो तहदेखि नै संघर्ष गर्दै आएकाले सबैको दु:ख र संघर्ष बुझ्ने क्षमता भएको आफू एक्लो नेता भएको उहाँले दाबी गर्नुभयो ।
‘जनताको नजरबाट गिरिसकेका नेतालाई अगाडि राखेर जतिसक्दो राम्रो काम गरे पनि जनताले पत्याउँदैनन्,’ उहाँले भन्नुभयो, ‘लोकतन्त्र जोगाउनको लागि नेतृत्व परिवर्तन आवश्यक छ । विधि र पद्धती जोगाउनको लागि पनि नेतृत्व परिवर्तन आवश्यक छ ।’
फरक प्रसंगमा नेता सिंहले अदालतलगायतका निकायमा राजनीतिक नियुक्त, संविधानको भावना विपरीत काम गर्दा समस्या उत्पन्न भएको जिकिरसमेत गर्नुभयो ।