भैरहवा । राष्ट्रपति विद्यादेवी भण्डारी आज भैरहवा जानुहुने भएको छ । उहाँ भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको जेड धातुको बुद्ध मूर्ति अनावरण गर्न त्यसतर्फ जान लाग्नुभएको हो ।
निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको बहुमूल्य बुद्ध मूर्ति आज अनावरण गरिन लागेको हो । लुम्बिनी गार्डेन फाउण्डेशनको पहल तथा म्यानमारको मा लिविन ग्रुपको सहयोगमा निर्मित बुद्धमूर्ति राष्ट्रपति भण्डारीले आज अनावरण गर्नुहुने कार्यक्रम रहेको छ ।
राष्ट्रपति भण्डारीले आज दिउँसो साढे १२ बजे मूर्ति अनावरण गर्नुहुने लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले बताउनुभएको छ । बुद्ध मूर्तिलाई शनिवार लुम्बिनी परिक्रमापछि विमानस्थल परिसरमा ल्याइएको थियो ।
लुम्बिनी गार्डेन फाउण्डेसनले लुम्बिनी सांस्कृतिक नगरपालिकामार्फत् गौतम बुद्ध विमानस्थलमा राख्नका लागि यो बुद्धमूर्ति ल्याइएको फाउन्डेसनका महासचिव एकराज गिरीले बताउनुभयो । उहाँका अनुसार म्यानमारका भिक्षु कालिगडले ६ महिना लगाएर सो मूर्ति बनाएका हुन् । मूर्तिलाई आज स्थानीय निकायमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिनेछ ।
वाइडजेड स्टोनबाट बनेको बुद्ध मूर्ति १८ सय केजीको छ । एक दशमलव नौ मिटर अग्लो रहेको उक्त मूर्ति ६० सेन्टिमिटर चौडाइ र एक मिटर मोटाइ रहेको छ ।