काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेपाली कांग्रेसले पाँच वर्षमा महाधिवेशन गर्नुपर्ने भए पनि अझै नगरेको भन्दै कांग्रेसमा महाधिवेशन गर्ने क्षमता नै नभएको टिप्पणी गर्नुभएको छ ।
शनिबार सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भन्नुभयो, ‘५ वर्षभित्र गर्नुपर्ने, गर्न नसक्ने । त्यसपछि ६ महिनामा गर्नुपर्ने, गर्न नसक्ने । निर्वाचन आयोगले दिएको ६ महिनाभित्र अहिले पनि १३ वटा जिल्लामा भएको छ । बाँकी, बाँकी नै छ ।’
मंसिर दोस्रो साता गर्ने भनिएको महाधिवेशन पनि गर्न नसक्ने भनिसकेको भन्दै ओलीले अघि भन्नुभयो, ‘महाधिवेशन आयोजना गर्ने क्षमता नै कांग्रेससँग समाप्त भइसक्यो ।’
उहाँले भन्नुभयो, ‘कांग्रेस बुढो भयो, विचार बुढो भयो, केही पनि छैन । महाधिवेशन आयोजना गर्न नसक्ने हालतमा पुग्यो ।’
एमालेले असोज १५–१७ मा विधान महाधिवेशन गरेको र मंसिरमा अर्को महाधिवेशन गर्न भन्दै एमाले अध्यक्ष ओलीले भन्नुभयो, ‘असाधारण जनउपस्थितिका साथ महाधिवेशन हुनेछ । एमालेको क्षमता देखेर दुनियाँ आश्चर्यचकित हुनेछ ।’