काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशनको मिमि पटक-पटक सारिएको भन्दै नेतृत्वप्रति रोष प्रकट गर्नुभएको छ । २०७६ फागुनमा सम्पन्न भइसक्नुपर्ने कांग्रेसको महाधिवेशन पटक-पटक सर्दै आएको छ ।
पछिल्लो पटक २४ देखि २६ मंसिरका लागि महाधिवेशनको मिति तय भएपछि पूर्वमहामन्त्री सिंहले ‘लोकतान्त्रिक पार्टीभित्र अलोकतान्त्रिक अभ्यास भइरहेको र यसले कांग्रेसको छवि धुमिल भएको’ बताउनुभयो ।
कांग्रेस सुनसरी-काठमाडौँ सम्पर्क समितिले दिपावली तथा छठ पर्वको अवसरमा शनिबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिंहले भन्नुभयो, ‘महाधिवेशनको दुई महिनाभित्र विभाग गठन हुनुपर्नेमा चार वर्षे कार्यकाल सकिएपछि असामान्य परिस्थितिमा महाधिवेशनको तिथिमिति तोकेपछि विभाग गठन भयो । अहिले पनि महाधिवेशनको मिति तोक्ने, काम नगर्ने र निर्णय कार्यान्वयन नगर्ने काम भइरहेको छ ।’
प्रतिबन्धित अवस्थामा पनि कांग्रेसले महाधिवेशनसहितका कार्यक्रम तोकिएकै मितिमा आयोजना गरेको स्मरण गर्दे नेता सिंहले भन्नुभयो, ‘महाधिवेशन पटक-पटक सार्दा छवी राम्रे भएको छैन । लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्नुपर्छ भन्ने तर पार्टीभित्र लोकन्तात्रिक अभ्यास अवलम्बन नगर्ने ? पार्टिभित्र यस्तो हालत छ ।’
१३ महाधिवेशनबाट नेतृवमा आएका पदाधिकारीबाट नै पार्टीको छवीमा आँच आउने काम भइरहेको उहाँले बताउनुभयो । ‘लोकतन्त्रिक गतिविधि भइरहेको छैन । पदाधिकारी हुँदैमा पार्टी उहाँहरुकै हो भन्ने होइन । कांग्रेसको विधानअनुसार चल्ने सबैको पार्टी हो,’ सिंहले भन्नुभयो ।