काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले न्यायालयमा भइरहेको गतिरोध अन्त्यका लागि नेताहरूले चाँडो समाधान दिनुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस सुनसरी-काठमाडौँ सम्पर्क समितिले दिपावली तथा छठ पर्वको अवसरमा शनिबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वमहामन्त्री सिंहले न्यायालयमा हुन नहुने घटना भइरहेको र जिम्मेवार नेताहरूले यसमा सकेसम्म चाँडो समाधान दिनुपर्ने बताउनुभयो ।
कार्यपालिका र न्यायपालिका संविधानको मर्म अनुसार चेक एन्ड ब्यालेन्स सिस्टममा चल्नुपर्ने उहाँले बताउनुभयो । ‘न्यायपालिकाले कार्यपालिकालाई प्रभावित पार्ने, कार्यपालिकाले न्यायपालिकामाथि हस्तक्षप गर्दा व्यवस्थामा खतरा हुन्छ,’ उहाँले भन्नुभयो, ‘संविधानअनुसार जिम्मेवारी बहनमा कमी आएकाले समस्या भएको हो, संविधानकाे भावना र मर्म अनुसार चल्नुपर्छ ।’
स्वार्थका लागि विधि र प्रक्रिया थन्काएर जे पनि गर्दा हुन्छ भन्ने प्रवृत्तिमा अगाडि बढेमा सिस्टम खलबल हुने उहाँले बताउनुभयो ।
प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराकाे आचरण र गतिविधिमाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतकै न्यायाधीश र नेपाल बार एसाेसिएसनले राजीनामा माग गरिसकेका छन् ।