काठमाडौं । बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन राजनीतिक दलहरुको ध्यानाकर्षण गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै बृहत नागरिक आन्दोलनले प्रधानन्यायाधीश जबरा न्यायपालिकाको नेतृत्व गर्न असक्षम भएको भन्दै महाअभियोग लगाउन दलहरुको ध्यानाकर्षण गरेको हो ।
वृहत् नागरिक आन्दोलनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान संकट निदानका लागि जागृत बार एशोसिएसनहरू, पूर्व प्रधानन्यायाधीशहरू, वरिष्ठ अधिवक्ताहरू, न्यायाधीश समाजको आह्वानलाई समर्थन गर्दै हामी न्यायपालिकाको नेतृत्व दिन अक्षम प्रधानन्यायाधीश जबरामाथि महाअभियोग लगाउन राजनीतिक दलहरूको ध्यानाकर्षण गर्दछौं ।’
संवैधानिक अंगहरुमा भागबण्डा गरेको घटनाले न्यापालिकाको मर्यादा गिरेको भन्दै नागरिक आन्दोलनले न्यायाधीशको रुपमा सेवा प्रवेश गर्दा नै मिलेमतोको आरोप लागेका जबराको न्यायिक जीवन विवादास्पद रहँदै आउनु र त्यसको कतै जवाफदेहिता नखोजिनु अहिलेको अव्यवस्थाको आधार भएको बताएको छ ।
यसैगरी संसदीय सुनुवाई समितिबाट अनुमोदनको मापदण्ड तय गर्ने तथा भागबण्डामा न्यायाधीश नियुक्तिको प्रथा बन्द गर्ने विषयमा प्रमुख दलहरुले आफ्नो दृष्टिकोण प्रष्ट पार्नुपर्ने पनि आन्दोलनले बताएको छ । न्यायापालिकामा अहिले देखापरेको संकट समाधान गर्नतर्फ जिम्मेवार हुनुको साटो सत्ता र प्रतिपक्षका दलहरुबीच प्रतिशोध साँध्ने प्रतिस्पर्धा देखिनु गैरराजनीतिक व्यवहार भएकोमा पनि नागरिक आन्दोलनले टिप्पणी गरेको छ ।