काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी तयारीमा लाग्नुभएको छ । उहाँ वर्तमान संसद्ले निकास राजनीतिक निकास दिन नसक्ने भन्दै ताजा जनादेशमा जानुपर्ने बताउँदै आउनुभएको छ ।
सत्तासीन नेपाली कांग्रेसको एउटा तप्का नै मध्यावधि (अर्ली इलेक्सन) मा जानुपर्ने लविङ गर्दै आएको र गत साता गृहप्रदेश सुदूरपश्चिम जाँदा धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाले ताजा जनादेशबारे सत्तागठबन्धनसँग छलफल गर्ने बताएपछि अध्यक्ष ओली चुनावी माहौल तताउन लाग्नुभएको हो ।
किनकि अहिल्यै अवस्थामा वैशाखभित्र मध्यावधि चुनाव भएमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीभन्दा आफ्नो पार्टी एमाले अगाडि हुने ओलीपक्षीय आँकलन छ । सत्ता गठबन्धन चुनावी गठबन्धनमा परिणत नहाेस् भन्ने चाहनुहुन्छ ओली ।
आगामी वैशाखभित्र स्थानीय तहकाे चुनाव गर्नुपर्ने प्रस्ताव निर्वाचन आयाेगले गरिसकेकाे छ । चुनावकाे खर्चमा मितव्ययिता अपनाउन तीन तहकै चुनाव एकैपटक गर्नुपर्ने माग पनि उठिरहेका बेला ओलीले गृहजिल्ला झापाबाट चुनावी माहोल बनाउन थाल्नुभएको छ ।
एमाले झापाका जिल्ला अध्यक्ष चिन्तन पाठकका अनुसार पछिल्लो समय ओलीको गृहजिल्ला आउजाउ बढेको छ । पछिल्लोपटक दुईदिवसीय यात्राका क्रममा आइतबार झापा पुग्नुभएका ओलीले भाषणभन्दा पनि भेटघाट तथा अरुको कुरा सुन्नमै समय व्यतित गर्नुभयो । भद्रपुर विमानस्थल हुँदै ओली सुरुमा आफ्नो पिता मोहन ओलीको निवास भद्रपुर-१ पृथ्वीनगर पुग्नुभयो । जहाँ उहाँका ९३ वर्षीय पितासँगै भाइ बुहारी बस्छन् ।
ओली आफ्नो पुर्ख्यौली निवास पुग्दा उक्त घर पार्टी कार्यालयजस्तै देखिन्थ्यो । आफन्त, छरछिमेक र नेता कार्यकर्ता तथा शुभचिन्तकको भीड लागेको थियो । ओलीले भ्याएसम्म शुभचिन्तक तथा छिमेकीसँग तस्बिर खिचाउने र सञ्चोबिसञ्चोबारे भलाकुसारी गर्नुभयो । कतिसम्म भने एकजना महिला शुभचिन्तक कुमारी लिम्बुले सधै फोटोमा मात्रै देखेको भन्दै मास्क खोल्न आग्रह गर्दा ओलीले मास्कमात्रै खाेल्नुभएन नजिकै बोलाएर तस्बिर पनि खिचाउनुभयो । के कसो भनेर हालखबर समेत सोध्नुभयो ।
त्यहाँबाट बिर्तामोडस्थित बृहत् पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथि बनेर जानुभएका ओलीले चुनावी शैली अपनाउनुभयो । एकातिर सुवास नेम्वाङ, अग्नी खरेल, भानुभक्त ढकाललगायत टीका लगाएर पार्टी प्रवेश गराउँदै हुनुहुन्थ्यो भने अर्कोतिर ओली मञ्चमा बच्चादेखि वृद्धसम्म भेट्दै फोटो खिँच्दै हुनुहुन्थ्यो । दूधे बालकलाई काखमा राख्नेदेखि वृद्ध आमाबाट आशिर्वाद लिनसम्म भ्याउनुभयो । एकातिर नेताहरु भाषण गर्दै थिए भने ओलीको ध्यान नेता कार्यकर्ताका छोराछोरी बोलाएर मञ्चमै तस्बिर खिचाउने, वृद्धवृद्धाबाट आशिर्वाद लिने, युवासँग भलाकुसारी गर्नमै बित्यो । कतिसम्म भने दुईजना किशोरीले पेन्सिलले कोरेको आफ्नो चित्रसहित फ्रेम तस्बिर ग्रहण गर्न उहाँले भ्याउनुभयो । किशोरीको पढाइबारे सोध्दै धन्यवाद दिनुभयो ।
कांग्रेसबाट संविधानसभा सदस्य रही एमाले प्रवेश गरेका अमृतराज रावकी वृद्ध आमाको हातबाट पनि आशिर्वाद लिन भ्याउनुभयो ओलीले । अमृतकी आमाले ओलीको शिरमै हात राखेर सफल हुनु, फेरि प्रधानमन्त्री बन्नु भन्ने आशिर्वाद दिनुभयो । उहाँले आशिर्वाद दिँदा टाउकोमै हात राख्दा ओलीको ढाका टोपी खल्बलियो । ओलीले टोपी उतार्नुभयो । फेरि मिलाएर लगाउनुभयो ।
यो समारोहमा ओली धेरै बोल्नुभयो । उहाँले दुर्गा प्रसाईदेखि लेखराज भट्ट, सुवास नेम्वाङसम्मलाई बोल्न अघि सार्नुभयो । आफू थोरै बोल्नुभयो । अन्य कार्यक्रममा घण्टौं बोल्ने ओली यहाँ भने बोल्नेभन्दा अनौपचारिक रुपमा भेट्ने र अरुका कुरा सुन्नमा केन्द्रित रहनुभयो । सम्बोधनका क्रममा पनि उहाँ विपक्षीप्रति त्यति आक्रामक देखिनुभएन । बरु एमाले पार्टी कस्तो हो, के के काम ग-यो, अब देश बनाउने एमाले नै हो, अरुले सक्तैन भन्ने खालको धारणा राख्नुभयो ।
कलाकारको प्रस्तुति
पछिल्लो झापा भ्रमणमा अध्यक्ष ओलीले काठमाडौंबाटै कलाकार पनि साथै लग्नुभएको थियो । हाँस्य कलाकार राजा राजेन्द्र अर्थात राजेन्द्र पोखरेल, गायिका पूर्णकला बिसी पनि झापा जाँदा एकै जहाजमा सँगै थिए । भद्रपुर विमानस्थलबाट काठमाडौं उड्न लागेका तक्मे बुढोको नामले परिचित विल्सन विक्रम राईलाई पनि फ्लाइट क्यान्सिल गर्न लगाएर रोक्नुभयो ।
बृहत् पार्टी प्रवेश कार्यक्रममा तिनै जना कलाकारले प्रस्तुति दिए । नेता कार्यकर्तालाई मनोरञ्जन गराए । राजा राजेन्द्र र विल्सनको प्रस्तुतिमा ओली पनि कार्यकर्तासँगै रमाइलो मानेर हाँस्नुभएको थियो । यसरी चुनावी तयारीअन्तर्गत ओलीले कलाकार पनि मैदानमा उतार्नुभएको थियो । कलाकार ओली सँगसँगै थिए ।
गृहजिल्लामा ओली आफ्नो यात्राका क्रममा बीचबीचमा बाटोमा गाडी रोकेर नेता कार्यकर्ता भेट्ने र संक्षिप्त संवाद गर्नमा पनि सक्रिय रहनुभयो । ओली झापा झर्दा साढे ५ हजार बढी नेता कार्यक्रम पार्टी प्रवेश गरेको एमाले झापाको दाबी छ ।
गृहजिल्लामा रहँदा ओली सामान्य उद्घाटन कार्यक्रममा पनि सरिक हुनुभयो । गौरादह नगरपालिकामा ओलीले नमूना पाहुना घर तथा नमूना ज्येष्ठ नागरिक मिलन केन्द्रको उद्घाटन गर्नुभयो । यहाँ पनि उहाँले स्थानीय उत्पादन प्रदर्शनी तथा प्रवर्द्धन गर्न आएका महिलासँग उत्पादित वस्तु हेर्दै भलाकुसारी गर्नुभयो गरे । स्वरोजगार बनेको भन्दै प्रशंसा पनि गर्नुभयो । कार्यक्रम सम्बोधनका क्रममा आफूले गरेका विकास निर्माणका कामको चर्चा गर्नुभयो । गौरिगंजको पार्टी प्रवेश कार्यक्रममा पनि सहभागी हुनुभयो ।
सधै सुरक्षा घेराभित्र रहने, डिस्टेन्स मेन्टेन गर्ने अध्यक्ष ओली यसपालि भने गृहजिल्लामा खुलेरै शुभचिन्तक भेटघाटमा सक्रिय भएको देखियो । उहाँले गृहजिल्लाबाट आफू चुनावी तयारीमा लागिसकेको एक खालको सन्देश पनि दिनुभएको छ ।
दुईपटक संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गर्दा पनि अदालतले रोक लगाएका बेला वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले जुनसुकै बेला चुनाव घोषणा गर्नसक्ने आंकलनमा ओलीको रहेको उहाँका निकटस्थ बताउँछन् । त्यसमाथि फागुनमा तीनवटै तहको निर्वाचन एकैचरणमा सम्पन्न गर्ने चर्चाले ओलीमा उत्साह ल्याएको छ । त्यसैले ओलीले आफ्नो जिल्लाबाट, आफ्नो ५ नम्बर निर्वाचन क्षेत्रबाट चुनावी माहोल तताउने जमर्को गर्नुभएको छ ।
झापामा ओलीको रणनीति बुझेका एक नेताले भन्नुभयो ‘बाले आफ्नो जिल्लामा चुनावी तयारी लगभग सिध्याइसके । अब चुनाव घोषणा भयो भने देशैभरि बा भिड्नुपर्छ । यता आउने समय हुन्न । त्यसैले उहाँ अहिले आफ्नो जिल्ला केन्द्रित हुनुभएको छ ।’ एमालेको औपचारिक चुनावी अभियान चितवनबाट सुरुवात हुने पनि उहाँले बताउनुभयो । १०औं महाधिवेशन एमालेको आधिकारिक चुनावी तयारी भएको उहाँले तर्क गर्नुभयो ।
त्यसो त मंगलबार पालिका अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले तीनै तहको चुनावी तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिइसक्नुभएको छ । यसबाट पनि ओली चुनावी मैदानमा उत्रिसक्नुभएको प्रष्ट हुन्छ ।