काठमाडौं । आधिकारिक ट्रेड युनियन, सर्वोच्च अदालतले न्यायालयमा देखिएको वर्तमान समस्याको समाधान दिन प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई आग्रह गरेको छ ।
आधिकारिक ट्रेड युनियन सर्वोच्चका तर्फबाट राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष प्रकाश पराजुली, निजामती कर्मचारी युनियनका अध्यक्ष राजकुमार भट्ट र नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष पुष्पराज तिमल्सिनाले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै अदालतभित्र देखिएका विकृति विसंगतिको अन्त्य गर्न प्रन्यासहित न्यायाधीशहरु जिम्मेवार भई गम्भीरतापूर्वक अबिलम्व समूचित समाधान दिनुपर्ने माग गरेका छन् ।
अन्यथा न्यायपालिकाको स्वतन्त्रताको रक्षा एवं न्यायका उपभोक्ताको न्याय पाउने अधिकारको संरक्षणका खातिर आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी पनि दिएका छन् ।
ट्रेड युनियनले अदालतभित्र प्रधानन्यायाधीश एवं न्यायाधीशहरुबीचमा असमझदारी भई मुद्दाको सुनुवाई नै प्रभावित भएको, न्यायालयको जनआस्था खस्काउने गरी प्रचार भएको भन्दै अदालतमा भइरहेका गतिविधिप्रति गम्भीर ध्यानाकर्षणसमेत जनाएको छ ।
त्यसैगरी नेपाल बार एसोसिएसनको सल्लाहकार समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेको छ ।
मंगलबार बसेको सल्लाहकार समितिको बैठकले न्यायालयको गरिमा जोगाउन नसकेको र न्याय सम्पादनमा आँच आएको भन्दै प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने निर्णय भएको वरिष्ठ अधिवक्ता शम्भु थापाले जानकारी दिनुभयो ।
३७ सदस्यीय समिति बैठकमा धारणा राखेकामध्ये ३६ जनाले प्रधानन्यायाधीश जबराको राजीनामा मागेको वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले जानकारी दिनुभयो ।
प्रधानन्यायाधीश जबरामाथि कार्यपालिकासँग मिलेको, न्यायालयको गरिमामा आँच पु-याउने कार्य भएकोजस्ता आरोप लाग्दै आएको छ ।
सर्वोच्च अदालतकै १४ जना न्यायाधीशले प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने वा आफ्नो गल्ती सच्याउने प्रतिबद्धता जनाउनुपर्ने भन्दै इजलास नै बहिस्कार गरेका छन् ।