काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र संविधानको रक्षा गर्न एमालेबाहेक कसैले नसक्ने दाबी गर्नुभएको छ । उहाँले देशको विकास गर्ने कार्यमा एमालेको विकल्पमा कुनै पार्टी नरहेको बताउनुभयो ।
थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यममार्फत एकैपटक ७५३ वटै स्थानीय तहमा एमालेको पालिका/इलाका अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले संविधान, लोकतन्त्र, राष्ट्रिय हितको रक्षा गर्न एमालेको विकल्प नरहेको बताउनुभएको हो ।
उहाँले व्यक्तिगत स्वार्थ, गुटगत स्वार्थबाट जोगिएर अघि बढ्न नेता कार्यकर्ताहरूमा आह्वान पनि गर्नुभयो ।
बाढीपहिरोले प्रभावित बाहेक पालिका कमिटीको मात्र आज अधिवेशनमा हुन लागेको हो । गाउँपालिका तथा नगरपालिकामा बढीमा ७५ तथा उपमहानगरपालिकामा ८५ र महानगरमा १ सय १ सदस्यीय पार्टी कमिटी गठन हुनेछ ।
एमालेले आगामी मंसिर १० देखि १२ सम्म चितवनमा १०औँ राष्ट्रिय महाधिवेशन आयोजना गर्दैछ ।
एक अर्को प्रसंगमा अध्यक्ष ओलीले संसद पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने पाँचैजना न्यायाधीशले राजीनामा दिनुपर्ने बताउनुभएको छ। उहाँले भन्नुभयो, ‘परमादेश त पाँच जनाले गर्नुभएको थियो । एक जनासँग मात्र किन राजीनामा माग्नुहुन्छ ? पाँचै जनाले राजीनामा दिनु उपयुक्त होइन र ?’
सर्वोच्च अदालतमा अहिले तमासा देखिएको भन्दै ओलीले न्यायाधीशहरु आफ्नो कमजोरी आफैं उधिन्न थालेको टिप्पणी गर्नुभयो । ‘श्रीमान न्यायाधीश कसले के के गरेको थियो । अलिकति उधिन्न थाल्नुभएको छ’ उहाँले भन्नुभयो ।
न्यायाधीशहरुले अहिले सर्वोच्च अदालतको मानमर्दन गरिरहेको उहाँको टिप्पणी थियो । ‘के न्यायालयप्रति न्याय पाइन्छ भन्ने विश्वास छ ?’ उहाँले प्रश्न गर्नुभयो, ‘जनतालाई मर्का परेको विषय पेन्डिङमै छ । नक्कली मुद्दा खडा गरेर अदालतलाई राजनीतिको केन्द्र बनाउने काम भइरहेको छ ।’