काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग कुरा नमिलेपछि १४ न्यायाधीशको छुट्टै बैठक सुरु भएको छ ।
सर्वोच्च अदालतमा भएको छलफलमा प्रधानन्यायाधीश जबराले सडकमा प्रश्न उठ्दैमा राजीनामा नदिने अडान राखेपछि न्यायाधीशहरू आगामी रणनीति तय गर्न छुट्टै बसेका हुन् । न्यायाधीशहरू बैठकमा बसेपछि आजका लागि पेसी तोकिएका मुद्दाको सुनुवाइ हुन सकेको छैन ।
प्रधानन्यायाधीश जबराले आफू संवैधानिक ढंगले आएकाले सोही ढंगले जाने तर कसैले भन्दैमा राजीनामा नदिने अडान राखेपछि १४ जना न्यायाधीश फेरि बैठकमा जुटेको एक न्यायाधीशले जानकारी दिनुभयो । जबरा बरु महाअभियोगको सामना गर्न तयार भएको तर कसैले भन्दै राजीनामा नदिने पक्षमा नरहेको सर्वोच्च अदालत स्रोतले बतायो ।
यसैबीच संवैधानिक कानुन व्यवसायी मञ्चले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा मागेको छ ।
नेतृत्व विवादमा परेको र संस्थागत नेतृत्व प्रभावकारी बन्न नसक्दा समग्र न्याय प्रणालीमै असर पर्न गई जनताको न्यायको अधिकार प्रभावित हुन पुगेकोले राजीनामा गरी सहज निकासको लागि पहल गरिदिन मञ्चले माग गरेको हो ।
न्यायपालिकालाई स्वतस्फूर्त रुपमा अघि बढ्न सक्ने वातावरण सिर्जना गर्न राणाले राजीनामा दिनु अनिवार्य रहेको मञ्चको निष्कर्ष छ ।
न्यायपालिकाको मर्यादामाथि थप आँच आउन नदिन, न्यायपालिकामाथिको जनआस्थालाई जोगाई राख्न तथा न्यायपालिकाको निरन्तर सुधारका लागि न्यायपालिका, यसको नेतृत्व, कानून व्यवसायी सबै संवेदनशील हुनुपर्नेमा मञ्चले जोडसमेत दिएको छ ।