विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश सुशीला कार्कीको पालादेखि नै सर्वोच्च अदालत विवादित बनेको टिप्पणी गर्नुभएको छ ।
‘सुशीला कार्कीजीले पहिला नै संविधानको बर्खिलाफ गर्नुभएको छ’, अध्यक्ष ओलीले भन्नुभयो । सविधानको धारा २७ को २ मा एक सर्वोच्च अदालतमा संवैधानिक इजलास रहने व्यवस्था उल्लेख गरिएको छ । त्यो इजलासमा प्रधानन्यायाधीश र न्यायपरिषदको सिफारिसमा प्रधानन्यायाधीशले तोकेका चारजना न्यायाधीशसमेत पाँचजना रहने व्यवस्था रहे पनि कार्कीले आफ्नो इच्छाअनुसार संवैधानिक इजलास बनाएको उहाँको आरोप छ ।
मोरङको विराटनगरमा मंगलबार प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले अहिले मात्रै होइन सुशीला कार्कीको पालादेखि नै सर्वोच्च अदालतले राजनीति गरेको आरोप लगाउनुभयो । अहिलेका प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ कि पर्दैन भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले एमाले सर्वोच्च अदालतको अशोभनीय गुटबन्दीमा नफस्ने बताउनुभयो । कसैको पक्ष र विपक्षमा एमाले नलाग्ने उहाँको भनाइ छ ।
बाहिर सेटिङ देखिने गरे पनि अहिले भित्र नै देखिएको उहाँको भनाइ छ । अदालत लोकतन्त्रको एक स्तम्भ भएकाले यसको गरिमा राख्नुपर्ने उहाँले बताउनुभयो । गठबन्धनको काम सिस्टममा प्रहार गर्ने मात्र भएको उहाँको भनाइ छ । माधव नेपालप्रति प्रहार संकेत गर्दै उहाँले सिस्टममाथि प्रहार गर्ने सानो जमात रहेको बताउनुभयो । उहाँले यो सरकारको किचलो केही पाकोस् भनेर हेरेको बताउनुभयो । केही समयअघि मात्र उहाँले एमालेले चाहेमा एक हप्तामा सरकार ढाल्ने बताउनुभएको थियो ।
अहिलेको सरकार असफल भएको अध्यक्ष ओलीको टिप्पणी छ । तीन महिनासम्म सरकार बनाउन विस्तार गर्न नसक्ने सरकार फेल भएको उहाँको भनाइ छ ।
सभामुखप्रति कटाक्ष गर्दै उहाँले एमाले सरकारमा हुँदा एक मिनेट कोही संसदमा उभिए संसद् रोकिए पनि अहिले प्रतिपक्ष दलको विरोध हुँदा बैठक चलेको बताउनुभयो । उहाँले अर्ली इलेक्सनको विकल्प नभएको समेत बताउनुभयो ।