काठमाडौं । नेपाल बार एसोसिएसनले अहिलेको समस्याको निकास दिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ ।
सोमबार बिहान ११ देखि ४ बजेसम्म बसेको आकस्मिक बैठकले न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशले निकास दिनुपर्ने र त्यसको लागि एकमात्र विकल्प पदबाट राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिनुभयो । हामीले उहाँबाट निकास हुनुपर्छ भन्ने निर्णय गरेका छौं,’ श्रेष्ठले भन्नुभयो, ‘भोलि न्यायाधीशहरूले प्रधानन्यायाधीशलाई भेट्ने कार्यक्रम छ । न्यायाधीशले प्रधानन्यायाधीश भेट्ने, इजलासमा सुनुवाइ नहुने यसरी कसरी जनताले न्याय पाउँछन् ।’
श्रेष्ठले प्रधानन्यायाधीशले न्यायपालिकाभित्रै मिलाउन नसककेको बताउनुभयो । ‘उहाँको कामकारबाहीमा अरु न्यायाधीशहरू नै असन्तुष्ट बने । यसले त उहाँबाट नेतृत्व हुनसक्ने देखिएन नि,’ उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले उहाँबाट निकास हुनुपर्छ भन्ने निर्णय गरेका छौं ।’ बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले भन्नुभयो, ‘यसको औपचारिक निर्णय र सार्वजनिक भोलि हुन्छ । भोलि सबै सल्लाहकारहरुसँग बृहत छलफल गरेपछि निर्णय सार्वजनिक गर्छौं ।’
श्रेष्ठले अघि भन्नुभयो, ‘हामीले अहिले उहाँले निकास दिनुपर्छ भनेका हौं, न्यायपालिकाभित्रै मिलाउन सक्नुभएन । उहाँले बारको आकस्मिक बैठकबाट भएको यो निर्णय मंगलबारको सल्लाहकार परिषदको बैठकपछि थप परिपक्व हुने बताउनुभयो । त्यसपछि निर्णय सार्वजनिक गरिने अध्यक्ष श्रेष्ठको भनाइ छ । मंगलबारकै छलफलमा कसरी अघि बढ्ने भन्नेबारे पनि तय हुने उहाँले बताउनुभयो ।
न्यायपालिकामा देखिएका विकृति, विसंगति अन्त्य गर्न नसकेको भन्दै पूर्वन्यायाधीश समाजले प्रधानन्यायाधीशले निकास दिनुपर्ने नभए प्रतिनिधिसभाले आफ्नो संवैधानिक दायित्व पूरा गर्नुपर्ने बताएको थियो ।
त्यस्तै न्यायपालिका शुद्धिकरण अभियानमा रहेका वरिष्ठ कानुन व्यवसायीहरुले पनि प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् ।