रसुवा । ६ वर्षअघि गएको महाभूकम्पपछि सुकेको रसुवाको एउटा तातोपानी कुण्ड पुनः भरिएको छ । आमाछोदिङ्मो गाउँपालिका–५ तातोपानीस्थित यो कुण्ड ०७२ सालको महाभूकम्पपछि सुकेको थियो ।
गत भदौ मध्यतिर पलाएको तातोपानी गत वर्ष माघमा सुकेको थियो । ८ महिनापछि अहिले पुनः तातोपानी पलाएको स्थानीय नोर्चेल तामाङले बताउनुभयो । उहाँका अनुसार ६ वटै धारामा पानी आइरहेको छ । उहाँले भन्नुभयो, ‘पानीको मात्रा पनि बढिरहेको छ ।’ तातोपानी पुनः देखिन थालेपछि स्थानीय खुसी भएका छन् भने गुमेको व्यवसाय पुनः फर्किनेमा आशावादी भएका छन् । विनाशकारी भूकम्पपछि तामाङ सम्पदा मार्ग र तातोपानी कुण्डको पानीको मुहान हराएपछि धार्मिक तथा साँस्कृतिक परम्परादेखि व्यावसायिक कारोबारसमेत प्रभावित भएको थियो ।
भूकम्पअघिसम्म यो कुण्डमा ४० डिग्री सेन्टिग्रेट तापक्रम र प्रतिसेकेन्ड सय लिटर हाराहारीमा पानी निस्कने गरेको अनुमान छ । तातोपानीको मुहान सुकेपछि व्यापारिक प्रयोजनका लागि लाखौँ रुपैयाँ खर्चेर बनाएका होटल सुनसान भएका छन् । पर्यटक नआउँदा केहीले होटल व्यवसाय छोडी पलायन भएका छन् ।
तातोपानी पोखरीमा नुहाएमा छालासम्बन्धी रोग, शरीरको खटिरा, दम, गानो गोला बाथ, चर्मलगायत रोगबाट ग्रसित बिरामी ठीक हुने विश्वास छ । तातोपानी कुण्डमा नुहाउन स्वदेशीमात्र नभएर विदेशी पर्यटकसमेत आउने गर्थे । दुई हजार ६ सय ४५ मिटरको उचाइमा अवस्थित तातोपानी कुण्डलाई भूकम्पको कम्पनले पु-याएको क्षतिपश्चात् पुनः पहिलेको अवस्थामा फर्किएको हुँदा पर्यटकीय तथा धार्मिक स्थानको संरक्षणमा ध्यान दिनुपर्ने जानकार बताउँछन् ।
























