चितवन । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औँ महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार नारायणगढ र बन्द सत्र सौराहामा हुने भएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि जिल्लाले दुई स्थान सिफारिस गरेको हो ।
एमाले चितवनका अध्यक्ष पार्वती रावलले महाधिवेशनको तयारी सुरुवात भएको बताउनुभयो । यसका लागि स्थानको स्थलगत अवलोकन गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो । “महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार र बन्द सत्र सौराहामा गर्ने गरी केन्द्रलाई आज सिफारिस पठाउँदै छौँ,” उहाँले भन्नुभयो ।
उद्घाटन सत्रमा पाँच लाखभन्दा बढी जनसहभागिता हुने भएकोले नारायणी नदी किनारको खुल्ला ठाउँ छनोट गरिएको उहाँले जानकारी दिनुभयो । सर्वसाधारणलाई सहज हुने गरी उक्त ठाउँ उद्घाटन सत्रका लागि उपयुक्त हुने उहाँको भनाइ छ ।
यस्तै महाधिवेशन प्रतिनिधि अधिकांशलाई सौराहामा आवासको व्यवस्था हुने भएकाले बन्द सत्र सोही ठाउँमा गर्न सहज हुने गरी सिफारिस गर्न लागिएको उहाँले बताउनुभयो । “महाधिवेशन प्रतिनिधि अधिकांशलाई हामीले सौराहामा आवासको व्यवस्था गर्दै छौँ, त्यही बन्द सत्र भयो भने सहज हुन्छ,” उहाँले बताउनुभयो ।
अधिवेशनकै सन्दर्भमा आइतबार नारायणी नदी किनार र सौराहाको स्थलगत अवलोकन गरिएको अध्यक्ष रावलले बताउनुभयो । एमाले नेता सुरेन्द्र पाण्डे, काशीनाथ अधिकारीलगायतकाको उपस्थितिमा अवलोकन गरिएको हो ।
यस्तै पार्टीका नेताले सौराहाका होटल व्यवसायीसँग महाधिवेशनको उपयुक्त ठाउँको बारेमा छलफल भएको जनाइएको छ । व्यवसायी सकारात्मक रहेको र सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको उहाँले बताउनुभयो ।
यसैगरी आइतबार नै जिल्लाका सुरक्षा निकायका प्रमुखसँग पनि महाधिवेशन स्थलका बारेमा छलफल भएको एमालेले बताएको छ ।