काठमाडौं । प्रधानन्यायाधीश प्रकरणमा राजनीतिक दल मौन बसेका छन् ।
प्रमुख प्रतिपक्षी एमालेले यसबारे पार्टीले धारणा बनाइनसकेको बताएको छ भने सत्तारुढ नेकपा (एकीकृत समाजवादी) ले नोटिसमा लिएको बताएको छ । सत्ता नेतृत्व कांग्रेसले भने यसबारे पार्टीले धारणा नराख्ने बताइसकेको छ ।
एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्रधानन्यायाधीश प्रकरणमा पार्टीको धारणा बनिनसकेको भन्दै धारणा बनाएर सार्वजनिक गर्ने बताउनुभयो ।
नेकपा एसका प्रचार विभाग प्रमुख एवं उपमहासचिव जगन्नाथ खतिवडाले ‘प्रधानन्यायाधीश प्रकरण नोटिसमा लिइएको र अध्ययन भइरहेको’ बताउनुभयो । ‘यसबारे पार्टीमा छलफल गरेका छैनौँ तर विषयबस्तु नोटिसमा लिएका छौँ । अध्ययन गर्दैछौँ,’ खतिवडाले भन्नुभयो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मन्त्रिपरिषदमै भागवण्डा लिएपछि उहाँमाथि राजीनामा चर्को दबाब छ । जबराले आज सोमबारका लागि सर्वोच्च अदालतको फुलकोर्ट बोलाउनुभएको छ । तर, सर्वोच्चका १४ न्यायाधीशले बहिस्कारको निर्णय लिएका छन् ।
उता सत्ताको नेतृत्व गर्ने दल नेपाली कांग्रेसले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रकरणमा नबोल्ने बताएको छ ।
जबराले मन्त्रिपरिषदमा पनि भागवण्डा लिएपछि उहाँले पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने आवाज उठिरहेका बेला कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यस विषयमा पार्टीले बोल्न नमिल्ने बताउनुभएको हो ।
‘यो विषयमा राजनीतिक दल प्रवेश गरेर बोल्न मिल्दैन, सम्बन्धित सरोकारवाला निकाय नेपाल बार एसोसियसन, पूर्वन्यायाधीशको फोरम छ,’ शर्माले भन्नुभयो, ‘हामीले डिफेन्स पनि गर्न मिल्दैन, समर्थन पनि गर्न मिल्दैन ।’