काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा बोलाएको सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) न्यायाधीशहरुले बहिस्कार गर्ने भएका छन् । आइतबार बसेको सर्वोच्च अदालतका न्यायाधीशहरुको बैठकले सोमबार बोलाइने फुलकोर्ट बैठकमा सहभागी नहुने सहमति गरेको हो ।
‘हरिकृष्ण कार्कीको प्रतिवेदन र वरिष्ठ अधिवक्ता उपाधि दिने भनी हामीहरुलाई एजेण्डा पठाइएको थियो, त्यसमा हाम्रो सहमति छैन’ एक न्यायाधीशले भन्नुभयो, ‘सोमबारको बैठकमा हामी उपस्थित हुन सक्ने भएनौं ।’ उहाँका अनुसार असन्तुष्ट न्यायाधीशबीच सोमबार बिहानैदेखि छलफलमा जुट्ने सहमति भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले आइतबार बारका पदाधिकारीहरुसँगको छलफलमा सोमबारका लागि आफूले सर्वोच्च अदालतका सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक डाक्ने र त्यसमा बारका पदाधिकारीहरु पनि बोलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
न्यायाधीशहरुले आफूहरुले इजलास भने बहिस्कार नगर्ने बताएका छन् । उनीहरुले सोमबारका लागि डाकिएको पूर्ण बैठकमा सहभागी नहुने निर्णयमात्रै गरिएको बताए ।
‘हामी १४ जना न्यायाधीशहरु आज खाजा समयपछि छलफलमा व्यस्त भयौं । अहिलेको नेतृत्वबाट न्यायपालिकाको सुधार हुँदैन भन्ने हाम्रो निष्कर्ष हो’ एक न्यायाधीशले भन्नुभयो, ‘विषयान्तर गर्न खोजिएको, मूल एजेण्डाबाट विमुख भएको निष्कर्ष निकालेर हामी बैठकमा सामेल नहुने भनेका हौं ।’
ती न्यायाधीशका अनुसार सोमबार विहानैदेखि असन्तुष्ट न्यायाधीशहरु छुट्टै छलफलमा सहभागी हुनेछन् । आफूहरुको एजेण्डा निकै लामो भएकाले कम्तीमा २/३ घण्टा छलफल लम्बिने उहाँले बताउनुभयो ।