विराटनगर । नेपाली कांग्रेसभित्रको आन्तरिक किचालेले प्रदेश १ को सत्ता समीकरणमा बदलाव आएको छ ।
कांग्रेसले प्रदेश १ मा पनि सरकारको नेतृत्व गर्न पाउनुपर्ने माग अघि सारेपछि अब सरकारको नेतृत्व कसले गर्ने भन्नेमा समस्या आएको छ । यसअघि कांग्रेस हाइकमान्डले नेकपा एकीकृत समाजवादीलाई प्रदेश १ को सरकारको नेतृत्व गर्ने सहमति गरेको थियो ।
विश्वासको मत लिने दिन भने कांग्रेस हाइकमान्डको सहमतिविपरीत कांग्रेसले सरकारको नेतृत्व गर्न पाउनुपर्ने माग अघि सारेको छ । बागमती प्रदेशमा कांग्रेस र समाजवादीले आधाआधा कार्यकाल बाँडेर सरकारको नेतृत्व गर्ने सहमति भएको, तर प्रदेश १ मा भने एकलौटी समाजवादीलाई दिने भनिएपछि प्रदेश १ कांग्रेसले केन्द्रसँग प्रश्न गरेको छ ।
छलछाम गरेर प्रदेश १ मा भने समाजवादीलाई मात्रै सरकारको नेतृत्व गर्न दिन खोजेको भन्दै विरोध भएको एक नेताले जानकारी दिनुभयो । ‘न औपचारिक पत्र आएको छ न केही ? मुखको भरमा नेतृत्व दिनुपर्छ भनेकाले हामीले मानेनौ,’ कांग्रेसका एक नेताले भन्नुभयो, ‘पार्टीभित्रै किचलो भएका कारण एक दिनका लागि बैठक स्थगित गर्न माग गरिएको छ ।’
नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले पार्टीभित्रको आन्तरिक तयारी नपुगेकाले एक दिनका लागि बैठक स्थगित गर्न माग गरिएको बताउनुभयो । उहाँले कसरी अगाडि बढ्ने भन्ने विषयमा सहमति भइनसकेकालेले एकदिनका लागि बैठक स्थगित गर्न माग गरिएको बताउनुभयो ।
पार्टीभित्र नै कुरा नमिलेका कारण प्रदेश सभाको आजको बैठक स्थगित गर्न माग राख्दै कांग्रेसले संसद सचिवालयमा निवेदन दर्ता गराएको छ । एकदिनका लागि बैठक स्थागित गर्न माग गर्दै नेपाली कंग्रेस संसदीय दलका प्रमुख सचेकत केदार कार्कीले निवेदन दिएका हुन् । प्रदेश सचिवालयका सचिव गोपाल पराजुलीले बैैठक एक दिनका लागि स्थगित गर्न माग राख्दै निवेदन परेको बताउनुभयो ।
प्रदेश १ मा कोइराला पौडेल समूहका राजीव कोइराला संसदीय दलको नेता हुनुहुन्छ । उहाँलाई कुनै पनि हालतमा मुख्यमन्त्री बन्नबाट रोक्न यसअघि नै कांग्रेसको संस्थापन पक्ष लागेको भन्दै विरोध भएको थियो ।
कांग्रेस प्रदेश १ संसदीय दलका नेता कोइरालाले पनि केन्द्रको निर्देशनअनुसार आफू मुख्यमन्त्रीको लाइनबाट पछि हटेको बताउँदै आउनुभएको थियो । तर संसदीय दलको बैठकमा भने कांग्रेस सरकारको नेतृत्व लिनबाट पछि हट्न नहुने भन्दै सांसदहरूले दबाब दिएका थिए ।
‘बागमती प्रदेशमा आधा आधा सरकारको नेतृत्व गर्दा हुने, प्रदेश १ मा कांग्रेसले पूरै कार्याकाल किन समाजवादीलाई छाड्नुपर्ने ? एक नेताले भन्नुभयो, ‘हामी केन्द्रले गरेको छलछाम र धोकाको प्रतिकार गर्छौ ।’ उहाँले बाहिर आए जस्तो फ्लोर क्रस गरेर भीम आचार्यलाई मतदान गर्ने भन्दा पनि आफ्नै नेतृत्वमा सरकार बनाउन चाहेको बताउनुभयो ।
प्रदेश १ मा संस्थापनइतरको प्रभाव बलियो छ । संसदीय दलका नेता र सचेतक संस्थापनइतरका छन् । उपनेता भने संस्थापन पक्षका छन् । यसअघि कोइरालालाई संसदीय दलको नेताबाट हटाएर हिमाल कार्कीलाई दलको नेता बनाउने आन्तरिक तयारी समेत भएको थियो । तर यो सम्भव नभएपछि संस्थापन पक्ष पछि हटेको थियो ।