ललितपुर । ललितपुर महानगरपालिका–२१ खोकनामा अवस्थित रुद्रायणी देवी मन्दिर पुनःनिर्माणका लागि जग खन्ने काम सम्पन्न भएर ढुङ्गा भर्ने काम अघि बढेको छ। वडावासी जात्रा एवं धान भित्र्याउने आदि चटारोमा व्यस्त भएसँगै सो मात्राको काम सम्पन्न भएको हो ।
मन्दिर पुनःनिर्माणका लागि कूल आठ फिट जग खनेर त्यसमध्ये पाँच फिटमा ढुङ्गा भर्ने काम अघि बढिरहेको रुद्रायणी मन्दिर पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष बेखनर महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यसमा छ इञ्च जति चुन अनि सुर्कीका साथै बालुवा तथा गिटी आदि राखेर ढलान गर्नेछौँ ।”
मन्दिर पुनःनिर्माणमा महानगरपालिका र पुरातत्व विभागले सहयोग गर्ने भनिएको रकममा केही लिएर काम अघि बढाइएको महर्जनले जानकारी गराउनुभयो । दायाँबायाँ आँखीझ्याल रहेको तीन तले झिँगटी छाएको सो मन्दिर विसं २०७२ को भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त भएको थियो ।
मन्दिर पूर्णरुपमा जीर्ण भएसँगै पुनःनिर्माणका लागि यही जेठमा जनश्रमदानबाट १८औँ दिनमा भत्काउने काम सम्पन्न गरिएको कोषाध्यक्ष इश्वर डङ्गोलले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्दिर बनाउन लपु महानगरपालिकाले रु एक करोड २५ लाखका साथै विभागले रु एक करोड सहयोग गर्ने वचनबद्धता गरेका छन् ।”
मन्दिरको झ्याललगायत थाम आदि वस्तु समितिको निगरानीमा राखिएको डङ्गोलले जानकारी गराउनुभयो । मन्दिरका पुराना दलिन अब मात्रै पाँच प्रतिशत प्रयोग गर्न मिल्ने समितिले जानकारी गराएको छ। मन्दिर पुनःनिर्माणका लागि दाताबाट लगभग रु चार लाख सङ्कलन भइसकेको अध्यक्ष महर्जनले सुनाउनुभयो ।
“विभागले मन्दिर पुनःनिर्माणमा कूल रु छ करोड चानचुन लाग्ने अनुमान गरिरहँदा स्थानीय इञ्जिनीयरले रु आठ करोड लाग्ने बताइरहेका छन्”, उहाँले भन्नुभयो । सो मन्दिरमा सार्वजनिक संरचनामा धेरै प्रयोग हुने ‘दचि अपा’ र ‘माँ अपा’ नामक दुई थरिको इँटा बढीमात्रामा प्रयोग भएको पाउँदा ‘माँ अपा’ ल्याइसकेको र अर्काे ल्याउन बाँकी नै रहेको बताइएको छ ।
मन्दिर भत्काउँदा भेटिएका केही तामा अनि चाँदीका साथै पित्तलका पैसा र पुनः प्रयोग गर्न मिल्ने आँखीझ्याल तथा थाम उपभोक्ता समितिको निगरानीमा राखिएको जनाइएको छ। ललितपुरको ऐतिहासिक बस्तीमा रहेको सो मन्दिर खोकनाको जात्रा अनि पर्व र नाचसँग जोडिएको छ ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यका साथै पूर्वशहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले २०७७ साल मङ्सिर १५ गते सो मन्दिरको अवलोकन गरी छिट्टै पुनःनिर्माणको काम अघि बढाइने आश्वासन दिनुभएको थियो ।
मन्दिरलाई पुरानै शैलीमा गुणस्तरीयताका साथै निर्माण गर्न आफूहरुले पटकपटक अनुरोध गरिरहेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको भनाइ छ । रुद्रायणी मन्दिर रहेको सो ठाउँ तोरीको तेलका लागि अति प्रख्यात मानिन्छ । उपत्यकाभित्र हिन्दू धर्मावलम्बीको महान् चाड दसैँ नमनाउने स्थानका रुपमा खोकनालाई चिनिन्छ ।
























