काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तीन दिनका लागि गृहजिल्ला झापा प्रस्थान गर्नुभएको छ । उहाँसँगै स्थायी कमिटी सदस्य लेखराज भट्टलगायतका नेताहरु पनि झापा जानुभएको छ ।

अध्यक्ष ओलीसहितका नेताहरुले झापा र मोरङमा आयोजना हुने विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ । सचिवालय सदस्य एवं ओलीका संसद प्रतिनिधि होमबहादुर थापाका अनुसार अध्यक्ष ओलीले आज विर्तामोडमा माओवादीबाट सयौं कार्यकर्तालाई एमालेमा प्रवेश गराउँदै हुनुहुन्छ ।

दिउँसो १२ बजे साई पार्टी प्यालेसमा हुने कार्यक्रममा माओवादी परित्याग गरी ठूलो संख्यामा कार्यकर्ताहरु एमाले प्रवेश गर्दैछन् ।

त्यसैगरी आजै धुलाबारीमा आयोजना हुने कार्यकर्ता भेटघाटलाई पनि अध्यक्ष ओलीले सम्बोधन गर्नुहुने जिल्ला अध्यक्ष चिन्तन पाठकले जानकारी दिनुभएको छ । भोलि बिहान आफ्नो निर्वाचन क्षेत्र झापा ५ को गौरादह नगरपालिका ५ महारानीझोडामा साना किसान महिला सहकारी संस्थाले निर्माण गरेको पाहुना घरको अध्यक्ष ओलीले उद्घाटन गर्नुहुने कार्यक्रम राखिएको छ ।

त्यसपछि दिउँसो १२ बजे सिमावर्ती गौरीगञ्ज बजारमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष ओली सहभागी हुनुहुनेछ । दसैं, तिहार,नेपाल सम्वत्, छठलगायतका पर्वहरुको अवसरमा स्थानीय पार्टी कमिटीले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो ।

सोही क्रममा अध्यक्ष ओली पृथ्वीनगरमा रहनुभएका आफ्ना वृद्ध बुवालाई भेट्न जानुहुनेछ ।

यहाँ पार्टीका पुराना कार्यकर्ता र आफूलाई भूमिगतकालमा आश्रय दिने आश्रयदाता र उनीहरुका परिवारसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको थापाले जानकारी दिनुभयो । भोलि साँझ ओलीको विराटनगरमा पार्टी नेताहरुसँग आन्तरिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

९ गते बिहान अध्यक्ष ओली काठमाडौं फर्कने कार्यक्रम रहेको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ ।