काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिगामी गतिविधिको नेतृत्व पाँच दलीय गठबन्धनले गरेको बताउनुभएको छ । उहाँले पाँच दलीय गठबन्धनलाई प्रतिगामीको संज्ञा दिनुभयो ।
शनिबार पार्टीको वडा अधिवेशनको भर्चुअल विधिबाट उद्घाटन गर्दै अध्यक्ष ओलीले तीन महिनाको अवधिमा पाँच दलीय गठबन्धनको सक्कली रुप देखा परेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘प्रतिगामी शक्तिहरु अहिले गठबन्धनको नाममा आइरहेका छन्, यसमा कुनै भ्रम रहनु हुँदैन, दुविधामा रहनु हुँदैन, यो तीन महिनामा देखिइसकेको छ, देशलाई अस्थिरतामा धकेल्ने, देशलाई अग्रममनमा जान नदिने ।’ उहाँले अगाडि थप्नुभयो, ‘स्वेच्छाचारी, मनपरीतन्त्र देशमा लागू गर्ने, अनुशासनहीनता, अराजकता राज्यस्तरबाटै गर्ने यसप्रकारका क्रियाकलाप हामीले देखिरहेका छौं, यो विपरीत बाटो हो प्रतिगमनतर्फको बाटो हो ।’
उहाँले भन्नुभयो, ‘कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने, कम्युनिस्ट सरकार ढाल्ने, प्रतिक्रियावादीको पाउमा सेवा अर्पण गर्ने, दक्षिणपन्थी जनविरोधी, दिशाहीन सरकार स्थापना गर्ने काम भएको छ।’
अध्यक्ष ओलीले गत असोज १५ र १६ गते भएको विधान महाधिवेशन सर्वसम्मत रुपमा भएकामा विरोधीहरु अचम्ममा परेको बताउनुभयो । छ हजार प्रतिनिधिबीच सौहाद्र्धपूर्ण छलफल देखेर विरोधीहरुले व्यक्तिको पार्टीजस्तो भएको भनेर लान्छना लगाएको पनि उहाँले टिप्पणी गर्नुभयो ।