काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले एमालेलाई समाप्त पार्छु भन्नेहरुलाई बलेसीको पानीको फोकाका संज्ञा दिनुभएको छ ।
देशभरका वडा अधिवेशनहरुलाई भर्चुअल माध्यमबाट सम्वोधन गर्दै ओलीले एमाले समाप्त पार्न गठबन्धन बनाएर दलहरु लागेको आरोपसमेत उहाँले लगाउनुभयो ।
‘हिजो एमालेलाई सरकारबाट हटाएपछि एमाले समाप्त हुन्छ भने । ती सवै बलेसीका पानीको फोका हुन । जसले हाम्रा चरित्र हत्या गर्न खोजे लान्छाना लगाए । तर ती निरर्थक भए एक समय लड्डु खाने जमाना पनि चल्यो, अबिर जात्रा गरे तर एमाले तुलना नै गर्न नसकिने गरी प्रमुख शक्ति हो,’ उहाँको भनाइ छ ।
तल्ला कमिटीलाई सर्वसम्मत नेतृत्व छान्न आग्रह गरेका ओलीले सत्तारुढ गठबन्धनले देशलाई अस्थिरतामा धकेलेको समेत आरोप लगाउनुभयो ।
गठवन्धनलाई स्वेच्छाचारिता र प्रतिगमनको बाटो भन्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘गठवन्धन छाड्नुस्, हामी एक्लै चुनाव जित्ने तयारीमा छौँ यही अनुसार तयारी गर्नुहोस् ।’
अध्यक्ष ओलीले चौतर्फी हमला भइरहदा पनि एमाले सबै ठाउँमा सबैभन्दा मजबुद शक्ति भएको दाबी गर्नुभयो ।
देशभरका वडा अधिवेशन उद्घाटन शत्रलाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले संघीय संसददेखि ६ वटा प्रदेशमा सबैभन्दा ठूलो शक्ति भएको भन्दै एमालेको गणना एक नम्बरमा हुने बताउनुभयो । ‘भोलि पनि हामी एक नम्बरमै हुन्छौं । एमाले नेता पार्टी हो । यसले देशलाई मार्गदर्शन गर्नुपर्छ । नमूना काम गर्नुपर्छ । हामीले निर्धारण गरेको समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पुरा गर्नुपर्छ । यसअनुसार अघि वढ्नुस्,’ सम्वोधनका क्रममा उहाँले भन्नुभयो ।
उहाँले जनताको समर्थनमा जनआधारित पार्टी बनाउने काममा लाग्न अधिवेशनबाट चुनिएर आउने नेतृत्वलाई आग्रह गर्नुभयो ।
उहाँले केन्द्रीय नेतृत्वलाई सफल बनाउन तल्ला कमिटीको महत्वपूर्ण भूमिका हुने भन्दै क्रियाशिल भएर देश र जनताको बृहत्तर हितमा केन्द्रीत हुन आग्रह गर्नुभयो ।