काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी ओलीले पार्टीको बेइज्यत गर्ने र हुर्मत लिनेहरु बिदा भएपछि पार्टी राम्रो र बलियो भएको दाबी गर्नुभएको छ ।
देशभरका वडा अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्वोधन गर्दै ओलीले माधव नेपाल र पुष्पकमल दाहाल पार्टीवाट अलग्गिएपछि पार्टी थप सशक्त भएको दाबी गर्नुभयो ।
‘पार्टीको बेइज्यत गर्नेहरु गइसके अव पार्टी शुद्धिकरण भयो । पार्टीलाई सरकारवाट हटाउने खेल भए । पार्टीमाथि आन्तरिक र वाह्य साँठगाँठ को निष्कर्ष सरकार फेरबदलमा देखियो । अब पार्टी नयाँ ढंगले अघि वढेको छ,’ उहाँले भन्नुभयो ।
उहाँले लोकतान्त्रिक भनिएको पार्टी (कांग्रेस)ले समेत अधिवेशन गर्न नसकेको भन्दै एमाले उन्नत पार्टी भएको बताउनुभयो ।
एक अर्को प्रसंगमा उहाँले बाढीपहिरो पीडित नागरिकलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।
अध्यक्ष ओलीले बेमौसमा आएको वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते को शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभयो ।
उहाँले वर्षातको मारमा परेकाहरुलाई राहत दिने र उद्धार कार्यमा संलग्नलाई धन्यवादसमेत दिनुभयो ।
यही कात्तिक १ देखि भारी वर्षासँगै आएको बाढीपहिरोले ठूलो जनधनको क्षति गरेको छ । क्षतिको विवरण आउन अझै बाँकी छ ।
एक अर्को प्रशंगमा अध्यक्ष ओलीले उन्नतस्तरको समझदारीका साथ देशभरका सबै वडा अधिवेशनहरू सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।
अतिवृष्टिका कारण आज हुन नसकेका वडा अधिवेशनहरू छिट्टै सम्पन्न गर्न पनि सम्बन्धित कमिटीहरूलाई अध्यक्ष ओलीले निर्देशन दिनुभएको छ ।