काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले सरकारले गति समात्न नसकेको बताउनुभएको छ । सय दिनमा सरकारले आशलाग्दो सुरुवात गर्न नसकेको उहाँको भनाइ थियो ।
नेपाल विद्युत प्राधिकरणको कर्मचारी संघको कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले भन्नुभयो, ‘सरकारले जुन गति समाउनुपर्ने हो त्यो गति हामीले पक्रिनसकेका छैनौं । नेपाली नागरिकलाई डर लागेको छ । जसरी हामीले पहिलोपटक २००७ सालपछि खेर फाल्यौं । फेरि १९९० पछि खेर फाल्यौं । अहिले फेरि एउटा मौका खेर फाल्दैछौं कि भनेर डर लागिरहेको छ ।’
नेता थापाले हाम्रो अगाडि केही मौकाहरु बाँकी रहेको र यस्तो बेला सम्हालिनुपर्ने आवश्यकता औल्याउनुभयो । ‘एसियाभित्र भारत र चीनलाई केन्द्र बनाएर विश्वको राजनीति, विश्व अर्थतन्त्र चलिरहेको छ । त्यसको नजिक हामीहरु छौं र यो अवसर १५/२० वर्ष अझै रहनेछ । नेपाल लाभ लिन सक्यो भने सक्यो । नत्र हामी चुक्छौं । नेपालले प्रगति गर्न सक्दैन,’ उहाँले भन्नुभयो ।