धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखमा ताजा जनादेश (अर्ली इलेक्सन) गर्नेबारे सत्ता गठबन्धनसँग छलफल गर्ने बताउनुभएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी ओलीले ‘ताजा जनादेशको विकल्प नरहेको’ बताउँदै आएका बेला प्रधानमन्त्री देउवाले अर्ली इलेक्सनमा आफू सकारात्मक रहेको सन्देश दिनुभएको छ ।
शुक्रबार बिहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा पत्रकार शिवराज भट्टले ‘वैशाखमा ताजा जनादेश कतिको सम्भव’ छ आशयको प्रश्न गर्नुभएको थियो । जवाफमा देउवाले यसबारे सत्ता गठबन्धनसँग छलफल गर्ने बताउनुभयो ।
अहिले कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धन छ । कांग्रेसकै नेताहरू अर्ली इलेक्सनमा सकारात्मक रहेका बेला देउवाको यो भनाइ बाहिर आएको हो ।
यद्यपि, यसबारे आफू एक्लैले भनेर नहुने बताएका छन् । उहाँले भन्नुभयो, ‘गठबन्धनको सरकार छ, मैले एक्लैले भनेर हुँदैन, गठबन्धनले जे भन्छ, त्यही हुन्छ ।’