भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले नगरभित्र सञ्चालन हुँदै आएका बंगुर फार्म हटाउन निर्देशन दिएको छ ।
बंगुर फार्मले नगरभित्र फाेहाेर/प्रदूषण बढाएको र स्थानीयको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पारेको भन्दै पालिकाले उक्त निर्देशन दिएको हो ।
चाँगुनारायण नगरपालिकाले नगरसभाबाट निर्णय गरेर नगरभित्र दर्ता भई र दर्ता नभई सञ्चालनमा आएका सबै बंगुर फार्म हटाउन भनेकाे छ ।
स्थानीय बासिन्दाले बंगुर फार्मबाट फाेहाेर/प्रदूषण बढेको र सो फार्म बन्द गर्न माग गरेकाले पालिकाले उक्त निर्णय गरेको नगरपालिकाकाे प्रशासन शाखाका अधिकृत निलाकुमारी घिमिरेले जानकारी दिनुभयो । उहाँले सूचना प्रकाशित भएको ३० दिनभित्र फार्म हटाउनुपर्ने र सोबारे जानकारी नगरपालिकामा गराउनुपर्ने समेत बताउनुभयो ।
३० दिनभित्र बंगुर फार्म नहटाइए पालिकाले कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।

























