काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज शुक्रबार पनि बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्नेछ ।
बिहीबार बसेको स्थायी कमिटी बैठकले आगामी मंसिरमा तय दसौँ राष्ट्रिय महाधिवेशन बुटवलबाट चितवनमा सार्ने निर्णय गरेको थियो । बैठकले रामबहादुर थापा ‘बादल’को नेतृत्वमा २१ सदस्यीय महाधिवेशन मूल व्यवस्थापन समितिसमेत गठन गरेको छ ।
एमालेले भोलि शनिबार देशैभरिका वडाहरूमा पार्टीको अधिवेशन गर्दैछ । तर, यसै साता आएको बाढी-पहिरोबाट प्रभावित जिल्लाका वडाहरूको अधिवेशन भने पछि सारिने भएको छ ।
शनिबार वडा अधिवेशन सुरु हुने कार्यतालिका रहेका बेला स्थायी कमिटी बैठक बस्न लागेको हो । तर, बाढीपहिरोको चपेटामा परेका वडाको अधिवेशन सारिने भएकाे हाे ।
१०बुँदे कार्यदलले सुझाव प्रस्तुत गर्ने
आजकाे बैठकमा १० बुँदे कार्यदलले सुझाव प्रस्तुत गर्नेछ । उपाध्यक्ष भीम रावल संयोजक रहेको कार्यदलले १० बुँदे सहमति कार्यान्वयन गर्न मापदण्ड तय गरिसकेकाे छ । याे कार्यदलकाे बैठक बिहीबार पनि बसेकाे थियाे ।
रावलको नेतृत्वमा महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, शंकर पोखरेल र लेखराज भट्ट छन् ।
माधव नेपालको साथ छाडेर एमालेमै बसेका १० नेताले १० बुँदे कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाए पनि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले भने अस्वीकार गर्नुभएको छ । उहाँले एमालेले १० बुँदे सहमति ९७ प्रतिशतभन्दा बढी कार्यान्वयन गरिसकेको दाबी गर्नुभयो ।
बिहीबारकाे स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै केही ठाउँमा देखिएको विवाद समाधानका लागि कार्यदलले काम गरिरहेको दाबी उहाँले गर्नुभएको थियो ।