काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिलेकाे पार्टी नेतृत्वका कारण नेपाली कांग्रेस कमजोर भएको भन्दै अब पार्टीको नेतृत्व आफूले गर्ने बताउनुभएको छ । उहाँले आसन्न पार्टी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने दोहोर्याउनुभएको छ । उहाँले पार्टीलाई विधिसम्मत र संस्थागत रुपले सञ्चालन गर्न सक्ने नेतृत्वको खाँचो औंल्याउँदै आफू सभापतिमा प्रतिस्पर्धा गर्ने बताउनुभयो ।
बिहीबार धादिङमा पार्टीको धुनिबेसी नगर समितिको कार्यालय उद्घाटन कार्यक्रममा पूर्वमहामन्त्री सिंहले कांग्रेसमा आफ्नो परिवारले त्याग मात्रै गरेको उल्लेख गर्दै १४ औं महाधिवेशनमा सभापतिमा दावी गर्नुभएको हो ।
‘गणेशमानको परिवारले सधैं त्याग मात्रै गरेको छ । अब म पार्टीको नेतृत्व गर्छु,’ उहाँले भन्नुभयो, ‘म गणेशमानको छोरा भएर मात्रै राजनीतिमा आएको होइन । मेरो आफ्नै छुट्टै संघर्ष छ । यहाँसम्म आइपुग्दा धेरै अवरोधहरुको समाना गरेको छु ।’ उहाँले आफू अन्य क्षेत्रमा असफल भएर राजनीतिमा नआएको बताउनुभयो ।
नेता सिंहले अहिलेको नेतृत्वले पार्टीलाई विधिसम्वत र संस्थागत रुपमा अगाडि नबढाएको आरोप लगाउनुभयो । पटक-पटक कार्यतालिका संशोधन गर्दा पनि महाधिवेशन गर्न नसकेको भन्दै उहाँले पार्टी नेतृत्वको चर्को आलोचना गर्नुभयो ।
‘महाधिवेशन पनि गर्न नसक्ने पार्टीले कसरी देश चलाउँछ भनेर जनताले प्रश्न गर्न थालिसके,’ उहाँले भन्नुभयो, अब तोकिएकै समयमा महाधिवेशन हुनुपर्छ । कुनै बहानाबाजी गर्न पाइँदैन ।’