काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा सम्भव हुने उपचार यहीँ गर्ने विदेश नजाने बताउनुभएको छ ।

बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूले पहिलोपटक किड्नी ट्रान्सप्लान्ट गर्दा नेपालमा सम्भव नभएकाले विदेश जानुपरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मैले किड्नी ट्रान्सप्लान्ट गर्दा यहा सम्भव थिएन अनि विदेशमा गए,दोस्रो पटक यही सम्भव भयो यही गरेँ ।’ आफू प्रधानमन्त्री हुँदा नेपालकै स्वास्थ्य प्रणालीमा विश्वास गरेर उपचार गरेको उहाँले बताउनुभयो । अझै पनि सम्भव हुने उपचार आफूले नेपालमै गर्ने ओलीको भनाइ थियो ।

कार्यक्रममा अध्यक्ष ओलीले एमालेको स्पष्ट नीति र भिजनसँग अन्य दल डराएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले एमाले स्पष्ट भिजनका साथ काम गरिरहेको छ । हाम्रो काम र भिजनलाई देखेर अन्य दल हड्बडाएका छन् । अहिलेको सरकारमा रहेका दल पनि चुनावसम्म गठबन्धन के हुन्छ भन्ने डरका साथ अब यो गठबन्धन सधैँ रहिरहन्छ चुनावसम्म भन्ने गरेका छन् । यो उनीहरु डराएर भनेको हो ।’

अध्यक्ष ओलीले अन्य दलले एमालेलाई दमन गरेको आरोप लगाउँदै अन्य दलको दमनलाई चिरेर अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीलाई दमन गर्ने शक्ति लागिपरेको छ । त्यसलाई सामना गरेर अघि बढ्छौँ । हामीसँग धेरै चुनौती ती चुनौतीलाई सामना गरेर अघि बढ्छौँ ।’

ओलीले सही गन्तव्यमा पुग्ने पार्टी पनि एमाले मात्र भएको बताउनुभयो । ‘गन्तव्य भएको पार्टी अर्को छैन, गन्तव्यमा पुग्ने बाटो सही भएको पार्टी अर्को छैन, बाटो सही पइल्याउने नीति भएको अर्को पार्टी छैन ।’ उहाँले भन्नुभयो । देशव्यापी सशक्त जनआधारित जनताले विश्वास गरेको पार्टी एमाले मात्रै भएको उहाँको तर्क थियो ।