धनकुटा । धनकुटाको चौविसै गाउँपालिका-१ गढिरेमा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु भएको छ । लगातार वर्षासँगै आएको पहिरोले घर पुरिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । पहिरोमा परेर तीनजना गम्भीर र तीनजना सामान्य घाइते भएका छन् ।
मंगलबार राति परेको अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा ६० वर्षीय भीमबहादुर श्रेष्ठ, उहाँका नाै वर्षीय नाति विनोद श्रेष्ठ, पाँच वर्षीया नातिनी निर्जला श्रेष्ठ, पाहुना आएका दमक नगरपालिका-११ का ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र सात वर्षीय दिप्सन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी दीपककुमार रायले बताउनुभयो ।
घाइतेमध्ये भेषबहादुर श्रेष्ठ, लिला श्रेष्ठ र गणितकुमारी श्रेष्ठको अवस्था गम्भीर रहेको डीएसपी रायले बताउनुभयो । गम्भीर घाइतेसहित उषा श्रेष्ठ, सञ्जाल श्रेष्ठ र चन्द्रकुमार श्रेष्ठको हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि लैजान सेनासँग समन्वय भइरहेको डीएसपी रायले बताउनुभयो । घटनास्थल ६ नं. बुधवारे बजारमा रहेको प्रहरी चौकीदेखि चार किलोमिटर दक्षिणमा छ ।
यसैबीच, वर्षासँगै आएको बाढीले सडक बगाउँदा कोसी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । साँगुरीगढी गाउँपालिका-६, फेदीमा दुई सय मिटर सडक लेउती खोलाले बगाउँदा मंगलबारदेखि नै सडक अवरुद्ध छ ।
अहिलेसम्म पानीको सतह नघटेकाले तत्काल बाटो खुल्ने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले बताउनुभयो । सडक बगाएको आसपासको क्षेत्रमा दर्जनौँ स्थानमा सडक भत्किएकाले पानीको सतह घटेपछि मात्र सडक डाइर्भसनको कार्य सुरु हुने प्रजिअ पन्थले बताउनुभयो ।
जिल्लाका सहायक राजमार्गहरू भेडेटार राजारानी नम्बर बुधवारे राँकै रवि सडक, तमोर करिडोर, हिले लेगुवा भोजपुर सडक पनि पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले बताएको छ ।