काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक बिहीबार दिउँसो ३ बजे बस्ने भएको छ । वडा र पालिका अधिवेशनको तयारीबारे छलफल गर्न एमालेले स्थायी कमिटीको बैठक बोलाएको हो ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी बैठक बोलाइएको नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । बैठकमा पार्टीका स्थानीय अधिवेशन, पालिका अधिवेशन लगायतका विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।

स्थायी कमिटीको बैठकमा असोज १५ देखि १७ गतेसम्म आयोजना भएको पार्टीको विधान महाधिवेशनको समेत समीक्षा हुने कार्यतालिका रहेको छ ।

स्थायी कमिटी बैठकमा आसन्न राष्ट्रिय महाधिवेशनका विषयमा पनि आवश्यक छलफल हुने बताइएको छ ।