झापा । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान देउवा सरकार लेनदेनबाट बनेको दाबी गर्नुभएको छ । दसैँ मनाउन गृहजिल्ला झापा आइपुग्नुभएका उहाँले यस्तो दाबी गर्नुभएको हो ।
अध्यक्ष ओलीले गजेन्द्र हमाललाई मन्त्री बनाइएकोप्रति समेत व्यंग्य गर्नुभएको छ ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले बिहीबार झापामा आयोजना गरिएको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै हमालको नियुक्तिले सरकार कसरी बनेको रहेछ भनेर प्रष्ट भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यो सरकार बार्टर सिस्टमबाट बनेको रहेछ भन्ने प्रष्ट भयो । पैसाको कारोबार भयो भएन थाहा छैन, बार्टर सिस्टमचाहिँ यसपटक देखियो ।’
शेरबहादुर देउवा नेतृत्वको सरकारका तत्कालिन उद्योगमन्त्री हमाल प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको कोटाबाट मन्त्री बनेको भन्दै चौतर्फी आलोचना भएपछि हमालले राजीनामा दिनुभएको थियो । परमादेशबाट देउवालाई लेनदेनका आधारमा प्रधानमन्त्री बनाउन आदेश दिएको भन्दै उहाँले घुमाउरो पारामा प्रधानन्यायाधीश राणाको व्यंग्य गर्नुभयो ।
अध्यक्ष ओलीले धर्तीमै पहिलोपटक परमादेशबाट सरकार बनेको भन्दै दसैँले यस्ता काम नगर्न सबैलाई सचेत गराउने कामना गर्नुभयो ।